काठमाडौं, १० माघ । चीनको बुहानबाट करीब २ वर्षअगाडी सुरु भएको कोरोना भाइरसले विश्वभर अहिले बितण्डा मच्चाइरहेको छ । यसबाट नेपाल पनि अछुतो छैन् । नेपालमा हालसम्म ११ हजार ६ सय ५५ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो मृत्युदर १ दशमलव ४ प्रतिशत हो । गत २४ घन्टामा मात्रै ४ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयलको अनुसार हालसम्म सबै भन्दै धेरै ६० देखि ६९ वर्षसम्मका संक्रमितको मृत्यु भएको छ । हालसम्म यो उमेर समुहका २४ सय ३९ जनाको मृत्यु भएको छ ।
त्यस्तै, ७० देखि ७९ उमेर समुहका २३ सय ९ जना कोरोना संक्रमितको हालसम्म मृत्यु भएको छ । मन्त्रालयको अनुसार ५० देखि ५९ उमेर समुहका २२ सय ६० जना संक्रमितको निधन भएको छ ।
यसैगरी, ८० र ८० वर्ष भन्दा माथिका अहिलेसम्म १५ सय ७८ जना संक्रमितको निधन भएको छ । ३० देखि ३९ वर्ष सम्मका ९ सय ४७, २० देखि २९ सम्मका ३ सय ३६, १० देखि १९ वर्षसम्मका ५७ जना, ९ वर्ष सम्मका ४९ जना र परिचय नखुलेका १३ जनाको मृत्यु भएको छ ।