एजेन्सी, ११ माघ। युक्रेनमाथि रुसले आक्रमणको तयारी गरेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको छ। रुसले आक्रमण गरी युक्रेन कब्जा गर्ने तयारी गरेको दावी गर्दै त्यस्को प्रतिकार गर्न अमेरिकाले आफ्ना सेनालाई तयारी अवस्थामा राखेको हो । रुसले युक्रेन नजिक झण्डै एक लाखको संख्यामा आफ्ना सैनिकहरु तैनाथी अवस्थामा राखेको छ। रुस र युक्रेनबीच जुनसुकै बेला युद्ध हुन सक्ने खतरा बढेको छ। रुसी सैनिकले युक्रेनमाथि आक्रमण थाले त्यसको प्रतिकार गर्न अमेरिकी सेना खटिने छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि गर्ने सम्भावित हमला र पछिल्लो अवस्थाका बारेमा युरोपेली मुलुकका अधिकारीहरुसँग सोमबार बिहान छलफल गरेका छन्। भिडियो कन्फरेन्सबाट भएको उक्त छलफलमा अमेरिका र युरोपेली मुलुकहरुले रुस विरुद्ध साझा रणनीति बनाउने विषयमा सहमत भएका छन्।-Photo: Agency