एजेन्सी, ११ माघ । बलिउडका अभिनेता विक्की कौशल र अभिनेत्री सारा अली खानले आफ्नो आगामी अनटाइटल फिल्मको इन्दौर शेड्युलको सुटिङ पूरा गरेका छन् । अहिले भर्खरै विक्की–सारा दुबैले मध्यप्रदेशमा नर्मदा नदीको भ्रमणका केही तस्बिरहरू सोशल मिडियामा फ्यानहरूसँग साझा गरेका छन्। यी तस्बिरहरूमा सारा डुङ्गामा बसेको देखिन्छ भने विक्की नदीको किनारमा बसेको देखिन्छ ।
फोटो सेयर गर्दै विक्कीले लेखेका छन्, ‘हर हर नर्मदे ।’ आइतवार अभिनेता शारिब हाशमीले फिल्मको सेटबाट सारा–विक्की र टोलीका केही तस्बिरहरू साझा गरेका थिए । उनले इन्दौर तालिकाको सुटिङ समाप्त भएको जानकारी दिएका हुन् ।
यो फिल्ममा विक्की–साराको जोडी पहिलो पटक पर्दामा देखिने भएको छ । निर्देशक लक्ष्मण उतेकरले निर्देशन गरेको यस फिल्ममा विक्की–साराका अलावा शारिब हाश्मी पनि मुख्य भूमिकामा देखिनेछन् ।