Logo

देउवाको माध्यमले चुनावमा बाजी मार्ने प्रचण्डको दाउ



काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुशल नेता मात्र होइनन् कुशल रणनीतिकार पनि हुन् । उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि रणनीतिक चार्तुयताबाट शक्ति आर्जन गर्दै आएका छन् ।

२०५२ सालमा सानो समूहको नेतृत्व गर्दै जनयुद्धको घोषणा गरी बढेका प्रचण्डले एक दशकमै आफूलाई शक्तिशाली शक्तिका रुपमा उभ्याए । माओवादी जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न सफल मात्र भएनन् आफ्नो एजेन्डा पूरा गर्न समेत सके ।

संघीयता, गणतन्त्र र धर्मनीरपेक्ष माओवादीकै एजेन्डा थियो । नेपाली काँग्रेस र नेकपा एमाले जस्ता दलहरुलाई संघीयता, गणतन्त्र र धर्मनीरपेक्षको पक्षमा लाग्न वाध्य पार्ने प्रचण्ड नै थिए । यसमा पनि उनको रणनीतिक चार्तुयताले भूमिका खेलेको थियो । १२ बुँदे सहमतिमै प्रचण्डले गणतन्त्र उल्लेख गर्न खोजेका थिए जुन सफल भएन । तर, उनले संविधानसभामार्फत् गणतन्त्रलाई सफल बनाइछाडे ।

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेलामा प्रचण्डका कारण देश अहिलेको परिवर्तनमा आएको बताएका छन् । यसले पनि प्रचण्डले नै अहिलेको परिवर्तनको जस लिइरहेका छन् । व्यवस्था परिवर्तन गरी अहिलेको व्यवस्था ल्याउन प्रचण्डले कहिले कुन शक्ति त कहिले कुन शक्तिसँग सामिप्यता राख्दै अर्को शक्तिलाई भिडाउन सके ।

पहिलो संविधानसभाको चुनावमा माओवादीले महत्वपूर्ण सफलता हासिल गर्दा पनि प्रचण्डको रणनीतिक चार्तुयताले काम गरेको थियो । त्यसपछि प्रचण्डको सत्तामा एकछत्र प्रभाव बनाउने महत्वाकांक्षाले समस्यामा पार्यो । संविधान जारी हुन सकेन । दोस्रो संविधानसभामा देश गयो ।

दोस्रो संविधानसभाको निर्वाचनमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी तेस्रो स्थानमा झर्यो । त्यतिबेलासम्म माओवादी फुटिसकेको थियो । त्यसपछि संसदीय राजनीतिको खेलहरुमा प्रचण्ड अभ्यस्त हुनथाले । उनले स्थानीय चुनावमा नेपाली काँग्रेससँग केही स्थानमा तालमेल गरी चुनावी फाइदा लिन सके । भरतपुर महानगरपालिकामा रेनु दाहाल जित्नुमा काँग्रेसको साथ थियो ।

तर, प्रचण्डले फेरि रणनीतिक चार्तुयता देखाए । नेकपा एमालेसँग चुनावी तालमेल गरे । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्याइदिए । ओलीसँग प्रचण्डको तालमेलका कारण माओवादीले महत्वपूर्ण चुनावी सफलता हासिल गर्न सक्यो । एमालेसँग माओवादीलाई एक बनाए । तर, ओलीसँगको खटपटले नयाँ राजनीतिक घटना विकास भयो ।

प्रचण्ड ओलीको पेलाईले निकै कमजोर भइसकेका थिए । उनले देउवा र माधव नेपाललाई आश्वस्त पारेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सके । देउवालाई प्रधानमन्त्री बनाएर भएपनि ओलीलाई धक्का दिन सके । पाँच दलीय गठबन्धनबाट प्रचण्डले एकपछि अर्को लाभ लिदै शक्ति सञ्चय गरिरहेका छन् ।

स्थानीय निर्वाचन र प्रतिनिधि सभा निर्वाचनको नयाँ बहस छेडिएको छ । प्रचण्डले स्थानीय निर्वाचन भन्दा पहिले प्रतिनिधि सभा चुनाव गर्ने प्रस्ताव गरेका छन् । उनी प्रतिनिधि सभा चुनावमा काँग्रेसहित ५ दलसँग गठबन्धन गरेर बढ्न यस्तो रणनीति चालिरहेका छन् । अर्कोतर्फ, चुनाव केही महिना पछि धकेल्ने प्रयासका रुपमा पनि यसलाई हेरिएको छ ।

स्थानीय चुनावमा तालमेलको सम्भावना नहुने र त्यसले प्रतिनिधि सभा चुनावमा असर गर्न सक्ने भएकाले प्रचण्ड संसदको चुनाव पहिले गर्ने पक्षमा छन् । अर्कोतर्फ, चुनाव केही पर धकेलेर शक्ति सञ्चय गर्ने प्रयास पनि हुनसक्छ । लामो समय सत्ताबाट बाहिर हुँदा एमालेलाई ठूलो असर पर्न सक्छ । अर्कोतर्फ, समय पाउन सके प्रचण्ड पूर्वमाओवादी देखि माधवकुमार नेपाल समेतलाई मिलाएर चुनावमा जाने समय पाउन सक्छन् ।

पछिल्लो समय प्रचण्डले देउवाको माध्यमले ओलीलाई कमजोर पार्न खोजिरहेका छन् । विगतमा उनले ओलीमार्फत् देउवालाई धक्का दिएका थिए । प्रचण्ड पहिलो र दोस्रो. ठूलो शक्तिबीचको द्वन्द्वबाट भरपूर फाइदा लिइरहेका छन् । देउवाको माध्यमले अबको तीन तहको चुनावमा बाजी मार्न खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot