Logo

कित्ताकाटमा रेट नै राखेर घूस, अनाधिकृत प्लटिङमाथि अख्तियार देखि प्रशासनको आँखा



काठमाडौं, १२ माघ । के तपाईं अनाधिकृत प्लटिङमा जग्गा किन्दै हुनुहुन्छ ? यसो हो भने सतर्क हुनुहोस् । उपत्यकाभित्र अनाधिकृत प्लटिङमाथि कारबाही अगाडि बढाइएको छ । त्यस्तो ठाउँमा जग्गा किने फस्ने निश्चित भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सूचना जारी गरी ९२ स्थानमा अनुमती नलिई अनाधिकृत जग्गा प्लटिङ भइरहेको जनाएको छ । ती अनाधिकृत प्लटिङमा जग्गा किने समस्यामा पर्ने बुझिएको छ ।

प्राधिकरणले अनुगमन गरी सूर्यविनायक, मध्यपुर थिमी, चाँगुनारायण गरी ९२ स्थानमा प्लटिङ भइरहेको भेटेको थियो । चाँगुनारायणमा सबैभन्दा बढी ८० स्थानमा प्लटिङ भेटिएको थियो ।

अनाधिकृत प्लटिङमाथि प्राधिकरणले कारबाही प्रक्रिया समेत बढाएको छ । प्राधिकरणले अनाधिकृत प्लटिङमा जग्गा खरिद नगर्न सूचना समेत जारी गरेको छ ।

यसैगरी प्लटिङ गर्दा जग्गा कित्ताकाटमा ठूलो चलखेल पाइएको छ । उपत्यकाका तीनवटै जिल्लामा प्लटिङका जग्गामा कित्ताकाट गर्दा प्रति कित्ता कम्तिमा एक लाख घूस लिने गरेको खुलेको छ ।

प्लटिङमा १३ फिटे जग्गा खोलेर कित्ताकाट गरेको खुलेको छ । त्यसरी कित्ताकाट गर्दा नापीका कर्मचारीले प्रति कित्ता काट कम्तिमा एक लाख रेट नै राखेर काम गरेको पाइएको छ । महत्वपूर्ण स्थानको जग्गामा त्योभन्दा बढी रकम लिने गरेको खुलेको छ ।

गोदावरी नगरपालिकाको विशंखुनारायण क्षेत्रमा डाँडो फाँडेर प्लटिङ हुँदै । जनप्रतिनिधि समेतको मिलेमतोमा सरकारी जग्गा भस्याइएको छ ।

यसैगरी, ललितपुर र भक्तपुरको वन क्षेत्रमा प्लटिङ पनि विवादमा परेको छ । धमाधम वन क्षेत्र फडानी भइरहेकोमा नगरपालिकाका जनप्रतिनिधि समेतको मिलमतो खुलेको छ । जिल्ला प्रशासन कार्यालयहरु र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यसमा हात हाल्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्