बनेपा, १२ माघ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोसीपारिस्थित भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिका क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।
सो अवसरमा उनीहरुले त्यस क्षेत्रको शान्तिसुरक्षाको अवस्था, कोरोना भाइरस सङ्क्रमण जोखिमको अवस्था र त्यसले पार्न सक्ने प्रभाव तथा सङ्क्रमण रोकथाम एवम् नियन्त्रणका लागि चालिएका उपायका बारेमा आवश्यक जानकारी लिए ।
अनुगमनका क्रममा उहाँहरुले इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीमा गरेको नागरिकसँगको अन्तरक्रियामा इलाका प्रहरी कार्यालयमा आवश्यक जनशक्ति नहुँदा अपेक्षाकृत रुपमा सुरक्षा प्रदान गर्न समस्या भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् । उनीहरुले आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रुपमा जाँडरक्सी नियन्त्रण हुन नसकेकोमा यसप्रति गम्भीर हुन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे ।
सो अवसरमा प्रजिअ पाण्डेले समाजमा हुन सक्ने अन्याय, हिंसा र अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरी एक्लैको प्रयासले मात्र सम्भव नहुने भएकाले यस्ता कार्यमा समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै स्थानीय नागरिकको गुनासोलाई सम्बोधन गर्ने खालका गतिविधिहरु सञ्चालन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए ।
प्रहरी उपरीक्षक जोशीले प्रहरी जनशक्ति न्यून रहेका कारण नागरिकले सोचेअनुसारको जनशक्ति खटाउन नसकिएको बताउँदै आगामी दिनमा त्यसलाई सम्बोधन हुने गरी काम गर्ने बताए । उनले ग्रामीण क्षेत्रमा लुकेका अपराधहरु लैङ्गिक हिंसा, जातीय छुवाछूतलगायतका घटनाका पीडित पक्षलाई कानुनी उपचारमा तदारुकता देखाउने गरी कार्य गर्नुपर्ने उल्लेख गर्दै कसैको दबाब, प्रभाव, करकाप तथा प्रलोभनमा नपरी निष्पक्ष र पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्न निर्देशन दिए ।