जनकपुरधाम, १३ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले परीक्षाहरू स्थगन गरेपछि विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सिटिइभिटिले परीक्षा स्थगित गरेपछि बिहीबार जनकपुरधाममा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
विद्यार्थीहरुले आज रामानन्द चोकमा केहीबेर चक्काजाम गरेका हुन् । उनीहरूले समयमै परीक्षा नलिएर आफूहरूको भविष्यसँग खेलबाड गरेको आरोप लगाएका छन् । तीन वर्षको कोर्षलाई पाँच वर्ष लगाउन नपाइने उनीहरुको भनाई छ ।
भौतिक उपस्थितिमा परीक्षा, होम सेन्टर वा आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन हुनुपर्ने माग विद्यार्थीहरुले राखेका छन् । आफ्ना माग तत्काल पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
सीटीईभीटीले माघ १२ गते सूचना निकालेर डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमा/प्रमाणपत्रका वार्षिक/समेष्टरसहितका परीक्षाहरू स्थगन गरेको जानकारी दिएको थियो ।