काठमाडौं, १३ माघ । खानी तथा भूगर्भ विभागमा वैज्ञानिकहरु कि त टिक्दैनन् टिकेपनि क्षमता अनुसारको जिम्मेवारी पाउँदैनन् । खनिजसम्बन्धी विज्ञको उतिकै अभाव छ देशमा । तर, एउटा घटनामा देशका केही वैज्ञानिकहरु अख्तियारबाट डामिएका छन् ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रीको दबाबमा पशुपति मुरारकालगायत सिमेन्ट उद्दोगीको जरिवाना मिनाहा जस्तै बनाउन योजना बुनिदा वैज्ञानिकहरु डामिएका हुन् । खानी विभागमा इमान्दार र सोझा माइन इन्जिनियरका रुपमा परिचित धर्मराज खड्का पनि अख्तियारबाट डामिएका छन् ।
भूगर्भविद् डा. सौनक भण्डारी चीनबाट विद्यावारिधी गरेर फर्किएको २ वर्ष पनि भएको छैन । उनी चीनबाट फर्किएलगत्तै खानी दोहनबारे छानविन समिति पुनः गठन गर्ने निर्णय भएको थियो । समितिमा उनलाई पनि बस्न भनियो । चीनबाट भर्खरै पीएचडी सकेका सौनक हाकिमको आदेश टार्न सकेनन् । उनी समितिमा बसिहाले । १५ जेठ २०७७ मा उनी समेत बसेको समितिले सवा अर्ब जरिवानाको साटो १८ लाख तिरे पुग्ने प्रतिवेदन बनायो । विज्ञानमा दख्खल भएका सौनकले ऐन नियम र कानूनबारे खासै हेक्का नराखेको बुझिएको छ ।
इञ्जिनियरहरु धर्मराज खड्का र प्रशान्त बोहराका अलावा अनुसन्धानमूलक कार्यमा दख्खल राख्ने वसन्त अधिकारी पनि समितिमा बसेका थिए । सपना अधिकारीले कानूनमा स्नातकोत्तर गरेको केही समय मात्र भएको थियो । उपसचिवमा बढुवा भई उनी खानी तथा भूगर्भ विभागमा पुगेकी थिइन् । वैज्ञानिकहरु डामिदा अधिकारी पनि परिन् ।
पहिले जरिवाना तोकिसकेर समिति गठन भएकोमा फेरि पुनरावलोकन गर्न समिति गठनमा निहित स्वार्थ थियो । माथिको आदेशबाट चालिएको कदममा खानी विभागका वैज्ञानिकहरुलाई माथिका हाकिमहरुले प्रयोग गरेका थिए । जब अख्तियारले छानविन गर्यो तब वैज्ञानिकहरु छाङ्गाबाट खसेजस्तो भएको बुझिएको छ ।
रामप्रसाद घिमिरे आफैले विगतमा छानविन समिति गठन गरी सवा अर्ब जरिवानाको प्रतिवेदन बनाएका थिए । पछि उनैले यसमा पुनरावालोकन गर्न अर्को समिति बनाए । यसमा मन्त्रीले आदेश दिएको बुझिएको छ । उद्दोगीहरुले करोडौंको जरिवानाबाट उन्मुक्ति पाउन ठूलै चलखेल गरेका थिए । अख्तियारको आँखामा परेको यो विषयले वैज्ञानिकहरु नै डामिएका छन् ।
विद्यावारिधी सम्म गरेका वैज्ञानिक देखि खानीसम्बन्धी जानकार इन्जिनियरहरु पनि फन्दामा परे । खानी विभागका प्रतिष्ठा कमाएका कर्मचारीहरु समेत अख्तियारबाट डामिए ।