काठमाडौं, १४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई उचालेको र अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई उचालिरहेको भन्दै नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्लेषण गरेका छन् । प्रचण्डले ज्ञानेन्द्र शाहसँग वार्ता गर्ने कुरा उतिबेलै गरेका थिए । यसबाट झस्किएका तत्कालीन सात दलका तर्फबाट कमाण्डर जस्तै बनाइएका तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग महत्वपूर्ण सम्झौता गरेका थिए ।
दिल्लीमा भएको १२ बुँदे समझदारीको जगमा देशमा जनआन्दोलन सफल भयो । गणतन्त्र, धर्मनीरपेक्ष र संघीयताको मार्ग प्रशस्त भयो । त्यो प्रचण्डका लागि शान्तिपूर्ण राजनीतिक अवतरण मात्र थिएन ठूलो बाजीमा जित नै थियो । प्रचण्डले नेपाली राजनीतिका त्यतिबेलाका चतुर नेता मानिएका गिरिजाप्रसाद कोइरालालाई समेत ‘रणनीतिक कार्ड’ बनाउन सके । यो उनका लागि ठूलै सफलता थियो ।
कोइरालालाई महानायक जसरी प्रस्तुत गर्दै प्रचण्डले राजनीतिक लाभहरु लिन थाले । संविधानसभाको चुनाव भयो । कोइराला नेतृत्वको काँग्रेस नराम्रो धक्का खान पुग्यो । प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीले अभूतपूर्व सफलता हासिल गर्यो । राष्ट्रपतिका दाबेदार मानिएका कोइरालालाई प्रचण्डले धक्का दिए । उनले रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनाए । कोइरालाले डा. रामवरण यादवलाई अगाडि सारेर जिताउन सफल भए । त्यतिञ्जेलसम्म प्रचण्डले गणतन्त्र घोषणा गराउन सफल भइसकेका थिए । देशलाई धर्मनीरपेक्षतामा लाने मार्ग कोरिसकेका थिए । संघीयताको बाटो बनाइसकेका थिए ।
प्रचण्डले संसदीय राजनीतिमा अनेकन धक्काहरु खाए । प्रधानमन्त्रीबाट राजीनामा दिने गरी सेनापति प्रकरण भयो । दोस्रो संविधानसभा चुनावमा तेस्रो स्थानमा धकेलिए । तर, उनले फेरि रणनीतिक चार्तुयता देखाउँदै कहिले केपी शर्मा ओली त कहिले शेरबहादुर देउवासँग गठबन्धन बनाएर सत्तामा रहन थाले । उनी आफै पनि प्रधानमन्त्री भए ।
संविधान जारी भयो । २०७२ सालको यो घटनापछि प्रचण्डले सत्ताकै वरिपरि आफूलाई उभ्याइरहे । २०७४ सालको स्थानीय निकायको निर्वाचनमा देउवासँग कतिपय स्थानमा अघोषित घोषित तालमेल गरे । भरतपुर महानगरपालिकामा रेनु दाहाललाई जिताउन देउवाको साथ लिए । तर, प्रतिनिधि सभा र प्रदेशको चुनावमा प्रचण्डले देउवाको साथ छाडिदिए । देउवाले आफूलाई प्रचण्डले रणनीतिक कार्ड बनाएको भेउ नै पाएनन् ।
प्रचण्डले सबैलाई आश्चर्यमा पार्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाए । माधवकुमार नेपाल र झलनाथ खनालका लागि पनि यो आश्चर्यजनक घटना थियो । उनी ओलीसँगै नेकपाको अध्यक्ष बने । आलोपालो प्रधानमन्त्रीमा समझदारी गरे । प्रतिनिधिसभा र प्रदेशहरुमा ६० र ४० को तालमेल सम्झौता गरे । प्रचण्डले निकै कमजोर भइसकेको माओवादी पार्टीलाई फेरि जोगाए । उनले ओलीलाई रणनीतिक कार्ड बनाइसकेका थिए ।
ओली पनि कम चतुर देखिएनन् । नेकपाभित्र प्रचण्डलाई पेलेरै जानथाले । प्रचण्डले मन्त्री बनाएकाहरुलाई नै आफ्ना पक्षमा पार्न थाले । तर, प्रचण्डले पनि रणनीतिक चाल चल्न थाले । नेकपाभित्र माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम जस्ता हस्तीलाई साथमा लिएर ओलीविरुद्ध जेहाद नै छाडे । तर, ओली शतिशाल बनेर उभिए । नेकपाभित्रका तीन पूर्व प्रधानमन्त्रीसँग जुधिरहे । ओली हलचल भएनन् ।
प्रचण्डले माधव नेपाल र झलनाथ खनालको साथले नपुगेपछि अर्को रणनीति चाले । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भित्री सहमति बनाउने प्रयास गरिरहे । देउवा २०७४ सालको चुनावमा प्रचण्डबाट धोका पाएको भन्दै आश्वस्त हुन सकेनन् । तर, माधव नेपालसहित गएर देउवालाई बारम्बार प्रधानमन्त्रीको प्रस्ताव गरिरहे । भविष्यसम्म मिलेर जाने भद्र सहमतिहरु गर्न खोजे । अन्तमा देउवा पग्लिए । अर्ली इलेक्शन भनेका देउवा प्रधानमन्त्री बनेर दंग परे ।
अहिले प्रचण्डकै रणनीति अनुसार स्थानीय चुनाव प्रतिनिधि सभाभन्दा पछि गर्ने या एकसाथ तीन तहको चुनाव गर्ने विषयमा देउवा सहमत देखिएका छन् । उनले चुनाव गर्नेतर्फ उत्सुकता देखाएका छैनन् । संवैधानिक संकट आउन सक्ने मार्ग बन्द गर्न बरु निर्वाचनसम्बन्धी ऐन नै संशोधन गर्न थालेका छन् । चुनाव २०७९ को अन्ततिर गर्ने प्रचण्डको रणनीति अनुसार देउवा चल्न थालेको देखिदैछ । यसबाट प्रचण्डले ठूलै शक्ति सञ्चयको प्रयास थालिसकेका छन् ।
एक वर्ष चुनाव धकेल्दा ओलीलाई कमजोर बनाउँदै ओलीइतर कम्युनिस्ट शक्ति एकढिक्का बनाउने प्रचण्डको रणनीति देखिदैछ । आफूलाई २०६४ कै शक्तिशाली अवस्थामा पुर्याउने महत्वाकांक्षी योजनामा प्रचण्ड लागेका छन् । त्यसमा देउवा सहयोगी सावित भइरहेका छन् । चुनाव धकेल्दै लान तयार भएका छन् । चुनाव एक वर्ष पछि धकेल्दा थप समय प्रधानमन्त्री बन्न पाइने देउवाको बुझाई देखिन्छ । अर्कोतर्फ, गठबन्धन गरेर चुनावमा जाँदा सफलता हासिल हुनसक्ने उनको बुझाई पनि देखिन्छ । तर, चुनावमा घात अन्तर्घातको सम्भावनातर्फ देउवाले कमै ध्यान पुर्याएको बुझ्न सकिन्छ ।
प्रचण्डल रणनीतिक चार्तुयताबाट ठूलै शक्ति आर्जन गरिसकेका छन् । राज्यको महत्वपूर्ण निकायहरुमा उनको प्रभाव बढ्दै गएको छ । एकातर्फ अमेरिकी सहयोग एमसीसीको विरोध गरिरहेका छन् अर्कोतर्फ एमसीसी पक्षधर शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउन भूमिका खेलेका छन् । प्रचण्ड यसबाट कति चतुर छन् भन्ने बुझ्न सकिन्छ ।
२०५२ सालमा सानो समूहको नेतृत्व गर्दै जनयुद्धको घोषणा गरी बढेका प्रचण्डले एक दशकमै आफूलाई शक्तिशाली शक्तिका रुपमा त्यसै उभ्याएका होइनन् । उनमा रणनीतिक चार्तुयता छ । यही चार्तुयताले उनले राज्यको प्रणाली नै परिवर्तन गर्न सके । उनको रणनीतिमा धेरै नेताहरु कार्डका रुपमा प्रयोग भए । उनीहरुमध्ये कतिपयले यसको चालै पाएनन् र पाएकाल ढिलो मात्र पाए । यसरी नै प्रचण्डले शक्तिको भरपूर अभ्यास गरिरहेका छन् । उनी समकालिन नेताहरुमा सबैभन्दा सफल रणनीतिकारका रुपमा पनि देखिएका छन् । यसपटक उनले देउवाको माध्यमले शक्ति आर्जन गर्दै बढेका छन् ।