Logo

कुखुरा व्यवसायीसंग पैसा माग्ने सेती प्राविधिक शिक्षालय प्रमुख गाडी सहित फरार



डोटी, माघ १४ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ ।

कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिए ।

शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ । छानविन सुरु भएकाले उनलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ ।

यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो । कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि उनीमाथि छानविन सुरु भएको हो ।

शिक्षालयमा उनले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोशाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।

यादव शनिवार दिउँसो देखि शिक्षालयबाट फरार छन् । उप–प्रधानाध्यापकलाई निमित्त थमाएर उनी फरार भएका हुन् ।

जिल्ला बाहिर जाँदा जिल्ला प्रशासन कार्यालयबाट गाडीको पास लिनु पर्ने हुन्छ तर उनले प्रशासनलाई जानकारी समेत नलिएर शिक्षालयको गाडी सहित फरार भएका हुन् ।

आर्थिक पारदर्शिता, प्रशासनिक सुधारका विषयलाई लिएर शिक्षालयको कर्मचारी संघ आन्दोलित रहेको छ । संघले राखेका मागका विषयमा बैठक बसेर छलफल गर्ने सहमती भएपनि शिक्षालय प्रमुख अडियो बाहिरिएपछि एक्कासी शिक्षालय छोडेर हिँडेका हुन् ।

शनिवार विहान ११ बजे तीर आफुलाई सन्चो नभएको र एउटा फाइल केन्द्रमा पेश गर्नु पर्ने भएकाले आफु जान लागेको भन्दै निमित्तको पत्र थम्याएर शिक्षालय प्रमुख काठमाण्डौंका लागि हिडेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot