काठमाडौं, १४ माघ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा नबस्नु गैह्र जिम्मवारीको पराकाष्ठा र अन्य मानिसको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हरेक नागरिकको जिम्मेवारी भएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।
कसैको नाम उल्लेख नगरी ट्विटरमा लेखेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो ! यहि ज्ञान र विज्ञान आत्मसात गरेर संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर बल्ल सांगठनिक काममा फर्केको छु ।’
एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिनअघि कोरोना पोजेटिभ भएकै बेला सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएपछि उनको चर्को आलोचना सुरु भएको छ ।