Logo

सत्तागठबन्धन स्थानीय तहको चुनाव नगराउने षड्यन्त्र गर्दैछः गोकर्ण विष्ट



काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षि दल नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले परिणामको डरले सत्तागठबन्धन स्थानीय तहको चुनाव नगराउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । विष्टले निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्न पटक–पटक सरकारलाई ताकेता गर्दासमेत गठबन्धन लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।

आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने पनि उनले जिकिर गरेका छन् । लोकतान्त्रिक अभ्यासबाट नभाग्न, संविधानको कार्यान्वयन गर्न र अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न नेता विष्टले सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘यतिबेला सरकारमा सामेल पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षड्यन्त्रमा तल्लिन छन् । निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ ।  आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन । लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।’

 

 



प्रतिक्रिया दिनुहोस्