काठमाडौं, १४ माघ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महत्वपूर्ण प्रस्तावहरुबारे छलफल हुने भएको छ । अपरान्ह बस्ने बैठकमा स्थानीय चुनावको मिति घोषणा, प्रवक्ता चयन देखि केन्द्रीय कार्यसम्पादन समिति गठनबारे सभापति शेरबहादुर देउवाले परामर्श गर्ने बुझिएको छ ।
चुनाव वैशाखमा गर्ने या पछि सार्नेबारे देउवाले केन्द्रीय कमिटीमा सुझाव लिने भएका छन् । उनले प्रवक्ताबारे पनि निर्णय लिनसक्ने बुझिएको छ ।
काँग्रेस प्रवक्तामा देउवाका विश्वासपात्र मानिएका डा. प्रकाशशरण महत, रमेश लेखक र एनपी साउद दौडमा छन् । देउवाले लेखकलाई बनाउने सम्भावना रहेको बुझिएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारबाहेक कम्तिमा ३० जना राख्ने तयारी गरेको निकट स्रोतले बताएको छ । जसमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. सशांक कोइराला, शेखर कोइराला, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छेदार, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, सुनिलबहादुर थापा, सुजाता कोइराला, जीपछिरिङ लामा, प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, पद्मनारायण चौधरी, डा. डिला संग्रौला, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, पुष्पा भुसाल, शंकर भण्डारी, रामहरि खतिवडालगायतको बलियो सम्भावना रहेको बुझिएको छ ।