काठमाडौं, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले कुनै पनि तहको सरकार निर्वाचित जनप्रतिनिधिविहिन हुने कल्पना संविधानमा नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत कुनै पनि बहानामा चुनाव सार्न नहुने उनले तर्क गरेका हुन् ।
संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने उनले जिकिर गरेका छन् । जनप्रतिनिधिहरुको पदावधि समाप्त हुनुअगावै नयाँ चुनाव गर्ने कानूनी मान्यता रहेको पनि नेता थापाले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, ‘संविधानमा तिनतहको सरकारको व्यवस्था छ । कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन । यही मान्यताअनुसार पदावधि समाप्त हुनुअगावै नयाँ चुनाव गर्ने कानून बनेको हो । कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुनेछ ।’
सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्ने गरी कानून संशोधन गर्ने तयारीमा जुट्दै गर्दा नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।