काठमाडौं, १४ माघ । सत्तारुढ गठबन्धनको बैठक भोलि (शनिबार) बस्ने भएको छ । शुक्रबार प्रधानमन्त्री देउवासहित गठबन्धनका तीन शीर्ष नेताबीच भएको छलफलपछि भोलिको लागि गठबन्धनको बैठक बोलाइएको हो ।
बैठकमा स्थानीय तहको निर्वाचनको सम्बन्धमा छलफल गरिने जनाइएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको भेटवार्तामा स्थानीय तहको निर्वाचनको विषयमा भइरहेका आलोचनाको बारेमा छलफल भएको स्रोतले जनाएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने कार्ययोजनासहित पटक–पटक सरकारलाई आग्रह गरेको छ । आयोगले आज मात्रै निर्वाचन कानुनको बारेमा कानुन मन्त्रालयसँग छलफल गर्दैछ ।