Logo

‘डान्स बार दोहोरीमा काम गर्ने सयौंले किन गरे आत्महत्या ?’



काठमाडौं, १४ माघ । यतिबेला काठमाडौं उपत्यकालगायत देशभरका डान्स बार, दोहोरी जस्ता रात्रीकालिन मनोरञ्जनका क्षेत्र बन्द छन् । त्यहाँ एक लाख व्यवसायी छन् । ३ लाख जति मजदूर छन् ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी डान्स बार, दोहोरी साँझलगायत रातिका मनोरञ्जनात्मक क्षेत्र बन्द छन् । बन्दले त्यहाँका व्यवसायी मात्र मारमा छैनन् कामदारहरु भोको हुन थालेका छन् ।

दरबार व्यवसायी संघको संयोजक (किङ्स लाउन्ज) कुमार गुरुङले व्यवसायी नै आत्महत्या गर्न थालेको सुनाए । उनले भने,‘वार्षिक ५ अर्बसम्म कर बुझाउने हाम्रो व्यवसाय बन्द हुँदा आत्महत्याको अवस्थामा पुगिसक्यौं ।’

रात्रिकालिन मनोरन्जन व्यवसायको अध्यक्ष आशिष खड्काले आत्महत्या गर्ने कि सडकमा संघर्ष गर्नेमा पुगिसकेको बताए । उनले भने, ‘एक लाख व्यवसायीहरु र ३ लाख मजदुर एकसाथ सडकमा उत्रनेछौ, समयमै सरकारको चेत खुलोस् ।’

दोहोरी व्यवसायी संघको अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकिालिन व्यवसाय बन्द हुँदा कामदाहरुले धमाधम आत्महत्या गरिरहेको बताए । उनले भने,‘कोरोना पहिलो र दोस्रो भेरियन्टको समयमा २ सय ५० जना भन्दा बढी कामदारले आत्महत्या गरिसके ।’

व्यवसायी केशर बहादुर बुढाथोकीले अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालिन व्यवसाय भएको बताए । यसरी पटक–पटक व्यवसाय बन्द गराइदा अरबौं नोक्शान भएको बताए । भाडा तिर्न पनि मुश्किल भएको र मजदूरहरु भोको हुन थालेको सुनाए ।

रात्रिकालिन व्यवसायीद्वारा ४ लाखलाई सडकमा उतार्ने चेतावनी



प्रतिक्रिया दिनुहोस्