Logo

महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित



जनकपुरधाम, माघ १५। नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा नियुक्त १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन् ।

रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रबार जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन् । सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत मञ्जय गोइतले दुई हप्तादेखि धर्ना, प्रदर्शन गर्दै आए पनि माग सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्रसमेत बुझाएको जानकारी दिँदै गोइत भन्छन् ‘प्रजिअ पौडेलले रेल्वेका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरिरहे ।’

महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी तालिम दिन थालेपछि पुराना कर्मचारी आन्दोलित भएका हुन् ।

नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर नवनियुक्त महाप्रबन्धक झाले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन् ।

पछिल्लो पटक सहायक स्टेशन मास्टरको तालिम लिएका इन्द्रजित गोइतले आफूहरूलाई कुनै जानकारी नै नदिई नवनियुक्त महाप्रबन्धक झाले आफूअनुकूलका पार्टीका कार्यकर्तालाई नियुक्त गरी तालिम दिन लागेको आरोप लगाए ।

उनले गोप्यरूपमा तालिम दिएर आफ्ना नजिकका व्यक्तिहरूलाई राख्नु आफूहरूका लागि असह्य भएको बताए । उनले यसअघि आफूहरूले पनि एक महिनाको तालिम लिएको र आफूहरूको भुक्तानीसमेत बाँकी रहेको बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्