काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बैशाखमै स्थानीय तहको निर्वाचन हुने संकेत गरेका छन् । नेपालले चुनावबाट आफूहरु नआँत्तिएको सुनाए । उनले जनतामा जाने कुरामा आफूहरु जहिल्यैपनि सकारात्मक रहेको सुनाए ।
उनले बैशाखमै निर्वाचन भएपनि आफूहरु सामना गर्न तयार रहेको अभिव्यक्ति दिएका छन् । उनले चुनावको लागि गठबन्धन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार रहेको पनि उल्लेख गरेका छन् ।नेपालले एमालेले पाँच दलीय गठबन्धन भत्काउनको लागि षड्यन्त्र गरिरहेको टिप्पणी गरेका छन् ।
आज (शनिबार) काठमाडौंको बानेश्वरमा रहेको अर्याल होटेलमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको स्पष्ट पारेका छन् । उनले एमालेले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै आफूहरु एमालेको षड्यन्त्र विफल पार्नेगरि अघि बढेको सुनाए । उनले भने-“हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन् ।”
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम