Logo

सरकारी नीतिले बिलेट आयात घट्यो, स्पन्ज आइरन बढ्यो



वीरगञ्ज, माघ १६। सरकारले स्वदेशमै डण्डीको कच्चा पदार्थ (बिलेट) उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भन्सार राजस्व र अन्तःशुल्कको दर हेरफेर गरेपछि आयातमा त्यसको प्रभाव देखिएको छ ।

वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै भित्रिने बिलेटको आयात घटेको छ । बिलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयात परिमाण उल्लेख्य बढेको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकृत सन्तोषकुमार न्यौपानेले बताए ।

सुक्खा बन्दरगाह फलाम उद्योगको कच्चा पदार्थ भित्रिने मुख्य नाका हो । यस्ता वस्तु सुक्खा बन्दरगाहबाट भित्रिने मुख्य वस्तुको अग्रस्थानमा पर्दछन् ।

भन्सारका कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७८र७९ को साउनदेखि पुस महीनासम्मको अवधिमा यो नाकाबाट बिलेट आयात ७१ हजार मेट्रिक टन (मेट) ले घटेको छ ।

चालू आवको ६ महीने अवधिमा १ लाख २३ हजार मेट बिलेट आयात भएको भन्सारको तथ्याङ्कले देखाउँछ । गत आवको समीक्षा अवधिमा यस्तो आयात १ लाख ९४ हजार मेट थियो ।

यता स्पन्ज आइरनको आयात उल्लेख्य परिमाणले बढेको छ । गत वर्षको पहिलो ६ महीनामा १ लाख ४० हजार मेट स्पन्ज आइरन भित्रिएको थियो । चालू आवको सोही अवधिमा यो परिमाण १ लाख ७४ हजार मेट पुगेको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७८र७९ को बजेट प्रतिस्थापन विधेयकमार्फत स्पन्ज आइरनमा भन्सार महशुल शून्यमा झारेको थियो । स्वदेशमा उत्पादित बिलेटमा अन्तःशुल्कसमेत हटाएको सरकारले आयातित बिलेटमा भने बढाएको छ ।

यसअघि लाग्दै आएको प्रतिकिलो १ रूपैयाँ ६५ पैसा अन्तः शुल्कलाई बढाएर २ रूपैयाँ ५० पैसा पुर्‍याइएको थियो । बिलेट आयातमा ५ प्रतिशत भन्सार महशुल यथावत् राखिएको छ । त्यसअघि स्पन्ज आइरनको आयातमा पनि ५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot