Logo

१ अर्ब राजश्व छली प्रकरणमा फसाइएका उमाशंकर जेलमुक्त



काठमाडौं, १४ माघ । बाराका उमाशंकर रायभर जेलमुक्त भएका छन् । उनी नख्खु कारागारबाट पाटन उच्च अदालत ल्याइएर तारिख बुझेपछि मुक्त भएका हुन् ।

सर्वोच्च अदालतले १ अर्ब ४ करोड रुपैयाँ राजश्व ठगी प्रकरणमा फसाइएका रायभरलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो । न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको संयुक्त इजलासले उक्त आदेश दिएको थियो ।

पाटन उच्च अदालतले १९ फागुन २०७७ मा उनलाई ७५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश दिएकोमा तिर्न नसकेपछि कारागारमै रहेका थिए । उनको धरौटी रकम घटाइएपछि परिवारले तिरेको थियो ।

जागिरको प्रलोभनमा उमाशंकर रायभरको नागरिकता लिई सर्लाहीका सरोजकुमार मिश्रले हस्ताक्षर र ल्याप्चेको दुरुपयोग गरी विभिन्न कम्पनी खोलेर राजश्व छलेका थिए । मिश्रसहित १७ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा चलाइएको थियो । रायभरले मात्र २८ करोड ठगी गरेको अभियोग थियो ।



प्रतिक्रिया दिनुहोस्