Logo

बागमती किनाराका अनधिकृत घर टहरा भत्किएला ?



काठमाडौं, १६ माघ । बागमती किनाराका अनधिकृत घर टहरा भत्काउन सरकारी निकायको पटक पटकको प्रयास विफल हुँदै आएको छ । सरकारले सूचना जारी गरेपनि घर टहरा बनाउनेहरु आन्दोलनमा उत्रने गर्दै आएका छन् ।

राजनीतिक प्रभाव र भोटको राजनीतिले पनि घर टहरा भत्काउन रोक्ने गतिविधिहरु भइरहेका छन् । अनधिकृत घर टहरा बनाउनेसँग सरकार निरिह बन्दै आएको छ ।

यसपटक पनि अनाधिकृत घर टहरा भत्काउन सूचना जारी भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनारा वरपरका अनधिकृत अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र भत्काउन सार्वजनिक सूचना नै जारी गरेको छ । विगतमा पनि सूचनाहरु जारी गरिएका थिए । तर, घर टहरा निर्माण गर्नेहरुले बेवास्ता गरेका थिए ।

यसपटक समिति कडा रुपमा प्रस्तुत हुने सन्देश दिइसकेको छ । गुहेश्वरी देखि थापाथलीसम्मको संरचना भत्काउने तयारी भइसकेको छ । तर, राजनीतिक शक्तिको आँडमा विगतमा जस्तै समिति ब्याक हुने सम्भावना नभएको होइन ।

बागमती किनारको काठमाडौंतर्फ अनाधिकृत स्थायी र अस्थायी संरचनाहरु धेरै बनेका छन् । ललितपुरतर्फ भने महानगरपालिका र स्थानीयले विगतमा नै यस्ता गतिविधिलाई रोकेका थिए ।



प्रतिक्रिया दिनुहोस्