Logo

बीस तलासम्म आगो निभाउने दमकल



काठमाडौं, माघ १७ । काठमाडौं महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ ।

महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण गर्ने क्षमता छ ।

जर्मन प्रविधिमा आधारित इन्डोनेसियामा बनेको जिङ्गर कम्पनीको वारुणयन्त्रमा तीन हजार लिटर क्षमताको पानी र एक हजार पाँच सय लिटर क्षमताको फर्म भण्डारण गर्न सकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । ढुवानीबाहेक दुई लाख अमेरिकी डलरमा खरिद गरिएको वारुणयन्त्रले कम्तीमा ६० मिटरमाथिसम्म लागेको आगो निभाउन सक्नेछ । “वारुणयन्त्रले कम्तीमा २० तल्लासम्म लागेको आगो निभाउन सक्छ”, प्रवक्ता डङ्गोलले भने ।

यसअघि काठमाडौँ उपत्यकामा रहेका वारुणयन्त्रले आठ तलासम्म लागेको आगो मात्रै निभाउन सक्ने क्षमता थियो । हाल काठमाडौँ महानगरपालिकाअन्तर्गत चारवटा वारुणयन्त्र रहेका छन् । नयाँ वारुणयन्त्र काठमाडौँ उपत्यकामा रहेका साँघुरा सडकमा समेत जान सक्ने मोडलका रहेको दाबी गरिएको छ ।

साँघुरा सडक भएर आगो निभाउन जान समस्या भोगिरहेको कुरालाई ध्यानमा राखेर वारुणयन्त्रको मोडल रोजेको डङ्गोलले भने। उनले महानगरले ठूला र अग्ला भवन बनाउन स्वीकृति दिएसँगै त्यहाँ हुन सक्ने जोखिमलाई ध्यानमा राखेर वारुणयन्त्र खरिद गरेको भने।

“काठमाडौँ महानगरपालिकाले १० तल्लामाथिका भवन बनाउन स्वीकृत दिएको छ”, प्रवक्ता डङ्गोलले थपे, “त्यहाँ हुन सक्ने जोखिमका कुरालाई ध्यानमा राखेर २० तलासम्ममा लागेको आगो निभाउन वारुणयन्त्र खरिद गरेका छौँ ।” कोभिड अथवा अरू कारणले रोकिएन भने आउँदो फागुनभित्र वारुणयन्त्र काठमाडौँ आइपुग्ने हिसाबले तयारी भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्