Logo

अनि रातारात सारियो प्रतिनिधि सभा बैठक



काठमाडौं, माघ १७ । चारपटकसम्म स्थगित भएको प्रतिनिधिसभा बैठक फेरि १० दिन पर सारिनुको मुख्य कारण बढ्दो कोरोना संक्रमणलाई देखाइएको छ। वास्तविक कारण भने अरु नै रहेको स्रोतको दाबी छ।

पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकपछि प्रतिनिधिसभा बैठक १० दिन पर सारिएको हो। प्रतिनिधिसभाको आइतबार १ बजेका लागि बोलाइएको बैठक स्थगितको सूचना जारी गर्न शनिबार राति कार्यव्यवस्था परामर्श समिति सम्बद्ध कर्मचारीलाई आदेश भएको थियो।

आदेशपछि ती कर्मचारी संसद् सचिवालय सिंहदरबार गएर राति साढे आठ बजे सूचना जारी गरेको स्रोतले बतायो। सभामुखको आदेशले राति नै बैठक स्थगितको सूचना जारी गरिएको हो। कुनै पनि सूचना प्रायः कार्यालय समयमै जारी गरिन्छ। नभए अर्को दिन बिहानै सूचना जारी गरिन्छ।

सत्ता गठबन्धनको शनिबार बसेको बैठकमा स्थानीय तहको निर्वाचन जेठभित्रै गराउने सहमति भएको समाचार बाहिर आएको छ। तर बैठकमा अन्य केके विषयमा छलफल भयो भन्ने कुरा औपचारिक रुपमा बाहिर आएको छैन। बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदनका लागि संसद्मा प्रवेश गराउने विषयले पनि प्रवेश पाएको तर त्यसमा कुरा नमिलेको एक नेताले बताए।

प्रतिनिधिसभाको आइतबार १ बजे बोलाइएको बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरिसकेको थियो। सभामुख अग्नि सापकोटाले आइतबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठकका लागि समितिका सदस्यलाई उपस्थित हुन जानकारी गराउन संसद् सचिवालयका कर्मचारीलाई भनिसकेका थिए। ‘तर शनिबार राति एकाएक प्रतिनिधिसभा बैठक स्थगितको सूचना जारी भयोे। यसअघि पनि बैठक स्थगित हुनुको कारण एमसिसी नै थियो कि,’ स्रोतले भन्यो।

मंसिर २८ गते सुरु भएको संसद् अधिवेशन सोही दिन, पुस ६ र ७ गरी तीन दिनमात्र बसेको छ। त्यसपछि पुस १८, २२, २८ र माघ ३ गतेका लागि डाकिएको बैठक स्थगित भएको थियो। नागरिक दैनिकबाट/ file photo



प्रतिक्रिया दिनुहोस्