Logo

१२ जिल्लाका प्रहरी प्रमुखलाई गृहमन्त्री खाँणको फोन



काठमाडौँ, १७ माघ: गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोरोनाको प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । आज (सोमबार) गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री खाँणले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शित लहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरण कसरी हुन्छ भन्नेबारेमा जानकारी लिएको प्रहरी प्रमुखहरूले जानकारी दिएका छन् ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले गृहमन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शित लहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए । तराई जिल्लाका प्रहरी प्रमुखहरूसँग मन्त्री खाँणले सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनबारे पनि जानकारी लिएका थिए ।

सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको स्थिति र सिके राउतको आन्दोलनको अवस्थाबारे जानकारी लिएको बताए । झापाका प्रहरी प्रमुख विश्वमणि पोखरेलले प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, जाडोमा न्यानो कपडाबारे जानकारी लिएको बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्