Logo

महात्मा गान्धीलाई भेटेर चीनसँग कसरी सामना गर्ने भनेर सोध्ने सपना अधुरै रह्यो : दलाई लामा



एजेन्सी, १७ माघ। जनवरी ३० मा महात्मा गान्धीको हत्या भएको थियो । यस अवसरमा तिब्बती धर्मगुरु दलाइ लामाले गान्धीको प्रशंसा गर्दै आफू गान्धीको अनुयायी भएको प्रतिक्रिया दिंदै गान्धीलाई भेटेर चीनसँग कसरी सामना गर्ने भनेर सोध्ने सपना अधुरै रहेको बताएका छन् । लामाले गान्धीलाई अहिंसा तथा करुणाका प्रतिक भएको भन्दै प्रशंसा गरेका हुन् । साथै चीनसँगको विवाद समाधानका लागि गान्धीको विचार सहयोगी हुनसक्ने उनको भनाइ छ । गान्धीलाई आफूले सधैं गुरुको रुपमा मान्ने पनि लामाले बताए । र, उनको अनुयायी भएको दलाइ लामाको प्रतिक्रिया थियो । भारतीय सञ्चारमाध्यमहरूसँग आइतबार दलाइ लामाले यस्तो बताएका हुन् ।

‘बाल्यकालमा म गान्धीको बारेमा सुन्थें, पोताला दरबारमा रहने क्रममा एक पटक म सपनामा मुस्कुराउँदै महात्मा गान्धी जीसँग मिलेको देखें । उनीसँग मेरो केही कुरा भएन । मैले उनलाई सपनामा देखें,’ दलाइ लामाले भनेका छन् ।

१९५६ मा दलाइ लामा पहिलो पटक भारत भ्रमणमा आएका बेला गान्धीले धेरै वर्ष बिताएका स्थानहरूमा पुगेको स्मरण गरेका थिए । त्यस क्रममा गान्धीसँग व्यक्तिगत रुपमा भेट नभएकोमा पछुतो लागेको पनि दलाइ लामाले बताएका छन् । गान्धीलाई श्रद्धाञ्जली दिँदै लामाले गान्धीले आफूलाई जीवनभर सिकाएको र प्रेरणा दिएको बताएका छन् । उनी अहिंसावादी विचारका साथै २०औं शताब्दिका सबैभन्दा शक्तिशाली व्यक्ति भएको लामाको टिप्पणी छ । लामाले भनेका छन्, ‘कतिपय मानिसलाई गान्धीको कमजोरी लागे पनि त्यो उनको शक्ति थियो ।’

दलाइ लामाले गान्धीलाई आफ्नो राजनीतिक आदर्श व्यक्तिको रुपमा समेत व्याख्या गरेका छन् । साथै गान्धीको अहिंसावादी सिद्धान्तलाई फैलाउनु आजको आवश्यकता रहेको उनले बताएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्