Logo

कोरोना संक्रमणबाट भुटानमा एकको मृत्यु, प्रधानमन्त्रीले भने- ‘गोली लागेजस्तै भयो’



एजेन्सी, १८ माघ। पछिल्लो शुक्रबार भुटानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । उनी नियमित रूपमा डायलसिस गराउँदै आएकी मिर्गौला बिरामी रहेको भुटानका प्रधानमन्त्री डाक्टर लोते छिरिङले बताएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले लेखेको छ । कोरोना महामारीविरुद्धको लडाइँकै बीचमा एउटा महत्त्वपूर्ण जीवन गुमेको प्रधानमन्त्री छिरिङले बताएका हुन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री छिरिङले भनेका छन्, ‘महामारीविरुद्धको लडाइँकै बीच हामीले हिजो एक महत्त्वपूर्ण जीवन गुमाउएको थाहा पाउँदा गोली लागेझैं भएको छ । उहाँ डायलसिस गराउँदै आउनु भएकी मिर्गौला बिरामी हुनुहुन्थ्यो । एक जना प्रिय साथी गुमाउनुपर्दा पूरा देश नै दु:खी छ ।’ प्रधानमन्त्री छिरिङले अगाडि भनेका छन्, ‘कोरोना महामारीविरुद्ध एक अथक लडाइँ लड्दै हामीले प्रत्येक भुटानी नागरिकको जीवन बचाउनुपर्छ र सक्नुपर्छ ।’ भुटानमा पहिलो पटक सन् २०२० मार्चमा कोरोना पुष्टि भएको थियो । यही शुक्रबार भुटानमा एकैदिन २०५ जनामा संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री छिरिङले शुक्रबारको घटनाले आफूहरूलाई झस्काएको र अझै धेरै काम गर्नुपर्ने जिम्मेवारी थपेको पनि जनाएका छन् ।

अरु भेरिएन्टभन्दा ओमिक्रोन निकै संक्रामक रहेको उल्लेख गर्दै प्रधानमन्त्री छिरिङले भुटानमा ६५ वर्षमाथिका ५६ हजार नागरिक जोखिम समूहमा रहेको र ९० हजार दीर्घरोगी भएको समेत जानकारी दिएका छन् । त्यसैले उनले जोखिममा रहेका नागरिकको स्वास्थ्य बचाउन सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा पनि जोड दिएका छन् । अन्य देशमा अस्पताल भर्ना हुने बिरामीको संख्या घटाउनुलाई सफलताका रूपमा हेरिए पनि भुटानमा भने परिस्थिति फरक रहेको उनको भनाइ छ । उनले भनेका छन्, ‘हाम्रो उद्देश्य रोग निर्मूल नै हो किनकि हामीले महत्त्वपूर्ण जीवन गुमाउन सक्दैनौँ । हाम्रा राजाले हामीलाई दिएको महत्त्वपूर्ण जिम्मेवारी पनि त्यही हो ।’

दक्षिण एसियाली मुलुकमध्ये हिमाली मुलुक भुटान कोरोना महामारीबाट सबैभन्दा कम प्रभावित छ । भुटानमा अहिलेसम्म ४ हजार ६ सय ८५ जना संक्रमित भएका छन् भने ४ जनाको मात्रै मृत्यु भएको छ । करिब ८ लाख जनसंख्या भएको भुटानमा योग्यमध्ये अधिकांशले खोप लगाइसकेका छन् ।पछिल्लो समय संक्रमणपछि अस्पताल जाने र मृत्यु हुनेमध्ये अधिकांश खोप नलगाएका व्यक्ति भएको उल्लेख गर्दै तत्काल बालबालिकालाई खोप अभियान सुरु गरिने प्रधानमन्त्री छिरिङले बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्