काठमाडौं, १८ माघ । भेट्रान कम्युनिस्ट नेता बामदेव गौतम अहिले कुनै दलमा आवद्ध छैनन् । उनले नेकपा एमाले छाडेको घोषणा गरेदेखि कुनै दलको कार्यक्रममा सहभागिता समेत जनाएका छैनन् । बामेदवको न त आफ्नो दल छ ।
कम्युनिस्ट एकताका लागि लागेर बामदेवले एकता अभियान चलाए । तर, त्यसले कुनै परिणाम दिएन ।
नेकपा एमाले फुट्नु अघि नै गौतमले केपी शर्मा ओलीविरुद्ध संघर्ष गरे । ओली सरकार ढल्दा उनको भूमिका देखियो । उनले खुलेरै ओलीको विरुद्ध बोले । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा उभ्याए ।
गौतमले नेकपा एस बन्दा पनि भित्री भूमिका खेलेको चर्चा छ । उनको प्रचण्डसँग पनि निकट सम्बन्ध छ ।
कुनै पार्टीमा आवद्ध नभएपनि गौतम चुनाव अघि महत्वपूर्ण निर्णय गर्ने पक्षमा रहेको बुझिएको छ । उनी नेकपा एसमा जाने सम्भावना बढेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गौतमलाई पार्टीमा ल्याउन पहल गरिरहेको बुझिएको छ ।
गौतमले पनि आफू ओलीसँग नजाने भन्दै विकल्पहरुबारे निकटस्थसँग छलफल गर्दै आएका छन् । विश्वस्त स्रोतका अनुसार उनी नेकपा एसमा जाने वा माओवादीसँग एकता भएमा एकैपटक जाने तयारीमा छन् । माओवादी र नेकपा एससहित ओलीइतरको कम्युनिस्ट शक्ति मिलाउन पनि गौतम लागेका छन् ।