काठमाडौं, १८ माघ । सानिमा बैंक लिमिटेडले कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन माघ १७ गते कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् ।
यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन समारोहमा मेयर पुन, कार्की र साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड १९को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरु अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् । बैंकले पनि यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच हुने विश्वास लिएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२२ कार्यालय र १०२ वटा ए.टि.एम. संचालनमा रहेको जनाएको छ ।