Logo

नाम–गान्धी आदर्श नमुना विद्यालय, काम–चरम बेथिति



काठमाडौं, माघ १९ । तीन वर्षअघि वाग्मती प्रदेश सरकारले शैक्षिक गुणस्तरमा नमुना विद्यालय बनाउने घोषणा गरेको काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति देखिएको छ।

यो विद्यालयमा देखिएको चरम बेथितिबारे केन्द्र र प्रदेश र स्थानीय सरकारसहित सरोकारवाला बेखबर देखिएका छन्। कागेश्वरी मनोहरा–९ मा रहेको यस विद्यालयमा कार्यरत शिक्षकले सोह्र महिनादेखि पारिश्रमिकको समस्या झेल्दै आएका छन्।

नमुना विद्यालयको गुरुयोजनासम्बन्धी कार्यक्रमसमेत ठप्प अवस्थामा छ। जसले गर्दा प्रदेश सरकारले छुट्याएको यस आर्थिक वर्षको बजेटसमेत फ्रिज हुने अवस्थामा पुगेको छ। गत वर्ष भने बजेट फ्रिज नै भएको थियो।

विद्यालय व्यवस्थापन समिति र प्रधानअध्यापकले मानवअधिकार र श्रम ऐन उल्लंघन हुनेगरी कोभिड महामारीका बेला बिनापारिश्रमिक काममा लगाएको विरोधमा शिक्षकले गत भदौदेखि आन्दोलन गर्दै आएका छन्।

निजी स्रोतबाट तलब बेहोरिने बिहानी सत्रका कक्षा ११ र १२ सँग सम्बन्धित करिब डेढ दर्जन शिक्षक तथा कर्मचारी तथा आधारभूत र निमावि तहका करिब एक दर्जन शिक्षक तथा कर्मचारीले डेढ महिना धर्नासहित आन्दोलन गरेपछि गत दसैंमा कतिपयले ९ महिना र कतिपयले आठ महिनाको तलब प्राप्त गरेका थिए।

त्यससँगै गत कात्तिकमै आन्दोलनकारी शिक्षक तथा व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष राधेश्याम खड्का र निमित्त प्रधानअध्यापक छत्रबहादुर कटुवालबीच कार्यविधि निर्माण गरेर शिक्षकको पेसागत सुरक्षाको सुनिश्चितता हुनेगरी समस्या समाधान गर्ने र तलब पनि नियमित रुपमा भुक्तानी गर्ने सहमति भएको थियो। तर समस्या अझै उस्तै छ।

आन्दोलनरत शिक्षकले माग सम्बोधन नगरी एकलौटी रुपमा कार्यविधि निर्माण गरेर एक दशकभन्दा बढी समयदेखि ११ र १२ कक्षामा कार्यरत करार सेवाका शिक्षकलाई हटाउन खोजेको आरोप लगाउँदै आएका छन्।

उनीहरूले ६ महिना बितिसक्दा पनि माग पूरा गर्न व्यवस्थापन समिति र निमित्त प्रधानअध्यापक कटुवाल असफल भएको आरोप लगाउँदै आफ्ना मागबारे विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू, स्थानीय सरकार तथा स्थानीय राजनीतिक दलहरूलाई ध्यानाकर्षण गर्ने तयारी गरेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्