काठमाडौं, माघ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होछार पर्वले पारस्परिक सद्भाव अझ प्रगाढ र सुदृढ हुने बताएका छन् । सोनाम ल्होछारको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै पर्व मनाउनसमेत आह्वान गरेका छन् ।
शुभकामना सन्देशमा उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन् ।
सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन् ।