काठमाडौं, १९ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नतिर्ने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन अल्टिमेटम दिएको छ । मन्त्रालयले होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौंलाई रोयल्टी बुझाउन पत्राचार गरेको हो ।
क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न मन्त्रालयले पत्राचार गरेको हो ।
होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौंले २० करोड ६८ लाख १५ हजार, रक इन्टरनेशनल प्रालि काठमाडौंले ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौंले २१ करोड ५५ लाख, ओरियन्टल होटल्स लिमिटेड (¥याडिसन होटल) लाजिम्पाटले १८ करोड ७६ लाख र सेन्ट्रल मिडिया प्रालि काठमाडौंले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता बुझाउन बाँकी रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।