Logo

अमेरिकाले रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको पुटिनको आरोप



एजेन्सी, २० माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन्। रुसको राजधानी मस्कोमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि संचारकर्मीहरुसँग कुरा गर्दै पुटिनले युरोपमा बढ्दो नेटो गतिविधि सम्बन्धि रुसको सरोकारको पनि अमेरिकाले बेवास्ता गरेको बताएका हुन् ।

रुस र अमेरिकाबीच युक्रेनलाई लिएर भईरहेको तनावकाबीच मुख खोल्दै राष्ट्रपति पुटिनले कुनै पनि बहाना मार्फत रुसलाई युद्धमा धकेल्नु अमेरिकाको उद्देश्य भएको भन्दै युक्रेन विवादमा पनि त्यही गर्न खोजेको जिकीर गरे । अमेरिकाको चासो युक्रेनको सुरक्षा भन्दा पनि रुसलाई अल्झाईरहने हो भन्दै उनले युक्रेन पनि अमेरिकी मोहोरा बनेको आरोप लगाए ।

यदि युक्रेनलाई नेटोमा सामेल हुन दिने हो भने नेटोका अन्य सदस्यहरु पनि रुससँगको युद्धमा तानिने पुटिनको स्पष्ट भनाइ छ । “मान्नुस कि युक्रेन नेटोमा सामेल भयो र क्राइमियालाई पुनः प्राप्त गर्न सैन्य अपरेसन शुरु भयो भने के होला ? यसतर्फ कसैले सोचेको छ ?” रुसी नेताले चेतावनीको स्वरमा भने ।

यसैबीच, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसले आक्रमण गरेमा युक्रेनले पनि प्रतिवाद गर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग युक्रेनी राजधानी कीभमा भएको वार्तापछि जोन्सनले युद्धका लागि युक्रेनी जनताले पनि कठोर तयारी गरिरहेको बताए । त्यस्तै, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि युक्रेन र रुसबीच नभई रुस र सिंगो युरोपबीच युद्ध हुनसक्ने बताए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot