काठमाडौं, २० माघ । राप्रपाका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङले माघ १९ गतेको कदम परिस्थितिजन्य अवस्थाको उपजको रुपमा आफूले स्मरण गर्ने बताएका छन् ।
उनले माघ १९ गतेको कदमलाई तत्कालिन राजा ज्ञानेन्द्र शाहले असल नियतले चालेको कदमको संज्ञा दिए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘त्यो असल नियतले गरेको कदम हो, तर कहिलेकाहीँ नराम्रो रिजल्ट आउँछ क्या ।’
उनले आफूहरुले राजसंस्थाको एजेण्डा नछोडेको जिकिर गरे । उनले राजसंस्था फर्किने दाबी गरेका छन् । उनले राजा चुनावभन्दा माथि रहने र एकताको प्रतिकको रुपमा रहने सुनाए । उनले नेपालमा राजसंस्था फर्कने र हिन्दूराष्ट्रपनि कायम हुने दाबी गरे ।
तामाङ्ले आफूहरुको पार्टीको हालै सम्पन्न भएको महाधिवेशनमा पनि संवैधानिक राजसंस्थाको पक्षमा वकालत गरेको सुनाए । उनले राप्रपा कुनैपनि हालतमा नफुट्ने दाबी गरे ।