काठमाडौं, २० माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा छलफल गरेका थिए ।
भेटवार्तामा प्रधानमन्त्री देउवाले ठाकुरसँग एमसीसी पारित गराउन आग्रह गरेको पाईएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा पनि चर्चा भएको बताईएको छ ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट अनुमोदन गराउने कुरा गरिरहेका छन् ।
प्रधानमन्त्री देउवाले गठबन्धन तोडेर भएपनि आफू एमसीसी पारित गराउने पक्षमा रहेको भन्दै गठबन्धनका नेताहरुमाथि दबाब बढाईरहेका छन् ।
आजमात्रै एमाले सचिव टोपबहादुर रायमाझीले कांग्रेसले सभामुख हटाउनको लागि महाभियोग प्रस्ताव ल्याए आफूहरुले सहयोग गर्ने बताईसकेका छन् ।
यही सन्दर्भमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले भोलि सभामुख हटाउनुपर्ने अवस्था आएपनि सहयोग गर्न ठाकुरसँग आग्रह गरेको बुझिएको छ । file photo