Logo

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित तीन पक्राउ



काठमाडौँ, २० माघ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो अवैध सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ परेका हुन् ।

विमानस्थलमा रहेको प्रहरी टोलीले युएईबाट आएका गौर नगरपालिका-१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह, मनहरी–७ मकवानपुरका नवराज परियार र भोटेकोसी-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट १ केजी १ सय ५५ ग्राम सुन बरामद गरेको हो । उनीहरूको साथबाट ४ थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब १ करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए । पक्राउ परेकामध्ये शेर्पाले मलद्वारमा लुकाएर ल्याएको १ केजी १ सय ५५ ग्राम सुन बरामद भएको छ । उक्त सुनको मूल्य ८३ लाख ३८ हजार २ सय ४७ रुपैयाँ पर्छ ।

त्यस्तै, साहको साथबाट ६ लाख ४० हजार मूल्य बराबरका ४ थान आइफोन, ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ बराबरका बेरुवा औंठी र सिक्री बरामद भएको प्रहरीले जनाएको छ । परियारको साथबाट एक लाख ६० हजार रुपैयाँ बराबरको एउटा आइफोन र ३ लाख ९५ हजार २ सय २५ रुपैयाँ बराबरका सुनका औंठी र सिक्री बरामद भएको हो । पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot