Logo

थप गुणस्तरीय सेवाका लागि नेपाल मेडिसिटीले आफ्नो रिसर्च इकाईलाई विकास गर्दै



काठमाडौं, २० माघ । नेपाल मेडिसिटी अस्पताल र एनआइसीआरएफ (नेपाल इन्टेन्सीभ केयर रिसर्च फाउण्डेसन) बीच गत शुक्रबार समन्वयका लागि सम्झौता भएको छ ।

उक्त किसिमको विशिष्टकृत अनुसन्धान ईकाइ स्थापना गर्ने नेपालकै पहिलो निजी अस्पताल नेपाल मेडिसिटीले सम्झौताबाट सघन उपचारको कुनैपनि समस्यालाई बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर खोज्न सहयोग प्राप्त गर्ने आशा राखेको छ ।

नेपालको सघन उपचारको विकासमा अनुसन्धान मुख्य आधार रहेको विषयलाई दर्शाउने उद्देश्यका साथ काम गर्दै आएका एनआइसीआरएफले देशकै ठूलो संरचना र क्षमतासहितको सघन उपचार विभाग रहेको नेपाल मेडिसिटीसँगको सहकार्य गर्न लागेको जनाईएको छ ।

उपचार सिलसिलाका अनुभवका आधारमा खोजिएका जानकारीको प्रशोधन गर्दै उपयोगी तथ्याङ्कहरुबाट प्राप्त निश्कर्षलाई चिकित्सा सेवामा प्रयोग गर्न सकिने पनि मेडिसिटीले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

जसका लागि एनआइसीआरएफले नेपाल मेडिसिटीका कर्मचारीहरुसँग समन्वय गर्नेछ । अस्पतालको सघन उपचारमा भर्ना भएका बिरामीहरुको सबै व्यक्तिगत जानकारीलाई गोप्य राखी कुनैपनि व्यक्ति किन भर्ना हुनुपर्यो, कति दिन उपचार भयो, के–कस्ता उपचार विधि अपनाइयो, बिरामी सुरक्षा संयन्त्र कसरी अपनाइयो जस्ता जानकारीहरु रिसर्च इकाईले राख्ने भएको छ ।

नेपाल मेडिसिटीले आफ्नो उपचार प्रक्रियामा उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्ति मात्र नभई खोज तथा अनुसन्धानमूलक ज्ञानको पनि उत्कृष्ट प्रयोग गर्दै आएको अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन प्रा.डा. निलमणी उपाध्यायले बताएका छन् । उक्त सम्झौताले क्रिटिकल केयरको सुक्ष्म अध्ययन गर्न र सेवालाई थप गुणस्तरीय बनाउन सहयोग पु¥याउने उनको विश्वास थियो ।



प्रतिक्रिया दिनुहोस्