Logo

हल्लाको भरमा सरकार परीवर्तन हुँदैन : प्रवक्ता शर्मा



बुटवल ,२० माघ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले लुम्बिनी प्रदेश सरकार अहिले परिवर्तन हुने अवस्था नभएको ठोकुवा गरे ।

फागुनमा सत्ता परिवर्तन हुने हल्ला चलेपनि शर्माले भने–हामीले बनाएको गठबन्धन होईन ,यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । माथिबाट जे निर्णय हुन्छ ,यँहा पनि त्यही हुने उनले बताउँदै अहिले नै सरकार परिवर्तन नहुने दाबी गरे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले केन्द्रिय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेका र ति सबै सरकारमा गठबन्धनको सहभागिता रहेकाले पनि लुम्बनी प्रदेश सरकार परिवर्तन गर्नुपर्ने आवश्यक नरहेको बताए ।

प्रतिगमनका बिरुद्व राष्ट्रिय आवश्यक्ताको आधारमा गठबन्धन बनेको बताउंदै उनले भने – ब्यक्तिको चाहाना र इच्छा हुँदैमा नत सरकार परिवर्तन हुन्छ नत गठबन्धन टुट्छ । मन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण संसद चल्न नसक्दा कयौं काममा अबरोध भएको उल्लेख गर्दै सरकार अब संसद सुचारु गर्ने पक्षमा रहेको बताए । निम्नतम् १५ दिनका लागि भएपनि संसद चलाएर आवश्यक कामहरु अगाडी बढाउने पक्षमा सरकार रहेको बताउंदै संसद सुचारु गर्ने मिति भने मन्त्री शर्माले बताएनन् । अहिले संसद सञ्चालनको लागि बिजेनेशको तयारी भईरहेको उनल बताउँदै मन्त्रालयहरुले बिजनेश निर्माणको काम गरिरहेको जानकारी दिए ।

उनले एमसीसीले गठबन्धनको सरकारलाई केही प्रभाव नपार्ने दावी गर्दै भने –जनता एमसीसीको विपक्षमा भएकाले राष्ट्रको हितमा हुने गरी परिमार्जन गर्नुपर्ने हुन्छ । कोभिड महामारीको अवस्थामा पनि प्रदेश सरकारले विकासका योजनाहरु अगाडी बढाएको बताउंदै ति योजनाहरु समयमा नै सम्पन्न गर्ने दावी गरे । उनले पूर्ववर्ती सरकारले अगाडी सारेका आयोजनाहरु अगाडी बढेको बताउंदै वर्तमान सरकारले आयोजनाहरुका बजेट कटौती गर्यो भन्ने हल्ला गलत भएको बताए ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि केन्द्रिय सरकारले १ अर्व बजेट दिएको बताउंदै स्थायी राजधानी बनाउने कामले गति लिएको बताए । अहिल्यै राजधानी दाङ नजाने बताउंदै संसद भवन बनिरहेको र अन्य संरचना निर्माणका कामहरु पनि भैरहेको मन्त्री शर्माको भनाइ छ ।

कोभिड संक्रमणका कारण विगतका वर्षहरुमा जस्तै यस वर्ष प्रदेश दिवस मनाउन नसकिएको उल्लेख गर्दै भर्चुवलको माध्यामबाट प्रदेश दिवस मनाउने तयारी भएको मन्त्री शर्माले बताए । फागुन ३ गते स्थायी राजधानी दाङ्मा स्थापना दिवस मनाउने तयारी गरिएको र कम उपस्थितीमा दिवस मनाईने उनले जानकारी दिए । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्