Logo

गौरको हिंसा भड्काउने अभिव्यक्तिबारे रेणु यादवले मानवअधिकार आयोगमा के के भनिन् ?



काठमाडौं, २० माघ । भौतिक पूर्वाधारमन्त्री रेणु कुमारी यादवलाई आज राष्ट्रिय मानवअधिकार आयोगले बोलाएर गौरमा दिएको हिंसा भड्काउने खालको अभिव्यक्तिबारे जानकारी दिएको छ । आयोगले ५ माघमा दिएको अभिव्यक्तिबारे गम्भीर ध्यानाकर्षण गराएको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

पोखरेलले विज्ञप्ति जारी गरी आयोगमै बोलाएर जानकारी लिने क्रममा जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुनेमा भन्दै अब त्यस्तो नदोहोर्याउन निर्देशन दिएको उल्लेख छ ।

मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगेको स्वकिारेकी थिइन् । उनले कसैप्रति लक्षित र पूर्वाग्रह नरहेको, हिंसा तथा मुठभेड गर्ने मनसाय नरहेको भन्दै भविष्यमा नदोहोरिनेमा सचेत गरेको बताएकी थिइन् ।

मन्त्री यादवलाई शान्ति सुरक्षा र अमन चयन खल्बलिने खालका अभिव्यक्ति भविष्यमा नदिन आयोगले आग्रह गरेको समेत प्रवक्ता पोखरेलले बताएका छन् ।

५ माघमा गौरहमा सीके राउतको नामै लिएर मन्त्री यादवले गौरमा विगतमा २७ जनाको ज्यान जानेगरी भएको घटना दोहोराउने चेतावनी दिएकी थिइन् । उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । यादवको राजीनामा समेत मागिएको छ ।



प्रतिक्रिया दिनुहोस्