Logo

के साँच्चै एक सय तीन दिन भित्रै स्थानीय तहको निर्वाचन सम्भव छ?



काठमडौं, माघ २१ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सम्बन्धमा आन्तरिक तयारी अघि बढाएको छ । आयोगले सिफारिस गरेअनुरूप सरकारले आगामी जेठ ४ गते निर्वाचन घोषणा गर्नेमा ढुक्क हुँदै आयोगले तयारी अघि बढाएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका पदाधिकारीहरूसँग मंगलबार भएको भेटमा आयोगले सिफारिस गरेकै मितिमा निर्वाचन गराउने वचन दिंदै चुनावको तयारी थाल्न आग्रह गरेका छन् । सरकारले मिति घोषणा गरेको कम्तीमा तीन दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम थालेको छ ।

निर्वाचन कार्यक्रम भने चुनाव हुन एक महिना बाँकी रहँदा मात्र ल्याइने पनि आयोगले जनाएको छ । निर्वाचन कार्यक्रममा मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबीविरोध, छानबिनलगायतका विषय समेटिनेछ ।

निर्वाचनको व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक पक्ष तयार गर्न आयोगलाई सामान्यतयाः निर्वाचनको मिति घोषणा भएको दिनदेखि १ सय २० दिन आवश्यक पर्दछ । सरकार र आयोगबीच समझदारी बनेको जेठ ४ का लागि अब १ सय ३ दिन मात्रै बाँकी छ ।

आयोगले धेरैजसो पूर्व तयारीहरू सकिसकेकाले अब सरकारले मिति घोषणा गर्नेबित्तिकै बाँकी तयारी अघि बढाउने जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्