काठमाडौं, माघ २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म पनि रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई हप्ता दिनभित्रमा रोयल्टी बुझाउन पत्राचार गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै होटल याक एन्ड यति लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेज (र्याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेसनल प्रालि काठमाडौं, ह्याप्पी आवर प्रालि काठमाडौं तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौंले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नु पर्ने बाँकी बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो । रोयल्टी तिर्न अटेरी गर्नेलाई कारबाही गरिने मन्त्रालयको पत्रचारमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्मको बक्यौता होटल याक एन्ड यति लिमिटेड दरबारमार्ग काठमाडौंले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन होटल) लाजिम्पाटले १८ करोड ७६ लाख, रक इन्टरनेसनल प्रालि काठमाडौंले ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौंले २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौंले १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।
गत कार्तिक सात गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद जारी तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सात दिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।