काठमाडौं, २१ माघ । मोरङको उखुबारीमा गाडिएको दुई ठेकेदार तथा जग्गा व्यवसायीको हत्याका अभियुक्त पत्ता लागेका छन् । हत्यामा अनिलकुमार मण्डल संलग्न रहेको खुलेको हो । उनले हत्यामा पेशेवर अपराधीलाई समेत प्रयोग गरेको प्रहरीले पत्ता लगाएको हो ।
हत्यामा मण्डल संलग्न रहेको खुलेसँगै अर्को हत्या पनि पत्ता लागेको हो । ललितपुरको धापाखेलस्थित दिप्ती गुरुङको घरको कम्पाउन्डमा अर्को शव पनि फेला परेको छ । उक्त शव तेह्रथुमका ६२ वर्षीय मोहनप्रसाद लिम्बूको रहेको खुलेको हो । लिम्बू र मण्डलबीच लेनदेन विवाद पनि खुलेको छ ।
मण्डल र लिम्बूबीच जलविद्युत र सिमेन्ट उद्दोगमा लगानीका लागि साँढे दुई अर्बको करारनामा समेत बनाएको कागजपत्र फेला परेको छ । मण्डलले रकम दिएको कागजपत्रमा लेखिएको प्रहरी स्रोतले बताएको छ । यसबाट उनीहरुबीच लेनदेन भएको र पैसा फिर्ता नदिएपछि बन्दक बनाई करारनामा गराएर हत्या गरिएको हुनसक्ने अनुसन्धानबाट देखिएको छ ।
मोरङमा हत्या गरी गाडिएको फेला परेका राजेन्द्रकुमार श्रेष्ठ पनि ठेक्कापट्टामा लागेको खुलेको छ । उनले जग्गा प्लटिङमा पनि लगानी गरेका थिए । अर्का हत्या गरिएका शम्भुनाथ चौधरी पनि ठेक्कापट्टा र जग्गामा लगानी गर्दै आएका व्यवसायी हुन् ।
शम्भु चौधरी पेटी ठेकेदार भएको खुलेको छ । उनले तुलसीपुर घोराही फोरलेन सडकको १ अर्ब ३५ करोड लागतको ठेक्का पेटी ठेकेदार अनुप पाण्डे समूहबाट लिएको खुलेको हो । पाण्डे तुलसीपुरका मेयर घनश्याम पाण्डेका छोरा हुन् ।
शम्भु चौधरीको समूहले पाण्डे समूहबाट ठेक्का लिंदा ५ करोड बुझाएको खुलेको छ । उनी ठेक्काको काम अगाडि बढाउने तयारीमा थिए ।
ठेक्कामा शम्भुनाथ चौधरीको समूह र श्रेष्ठको समूह पनि जोडिएका छन् । अष्टभैरव निर्माण सेवा कम्पनीका सञ्चालक पाण्डे हुन् । ग्लोबल टेन्डर हुँदा भारतीय कम्पनी तथ्य इञ्जिनियरिङ एन्ड एन्फा प्रोजेक्ट प्रालिले ठेक्का पाएकोमा पाण्डेको अष्टभैरव नेपाली साझेदार कम्पनी थियो । उनी तथ्य इञ्जिनियरिङ एन्ड एन्फा कम्पनीको नेपाल प्रतिनिधिका रुपमा कागजमा देखिएको खुलेको छ ।
ठेक्का २०७५ सालमा सुरु भएपनि खासै काम भएको छैन । काम गर्न नसकेपछि ठेक्का अर्कैले पाएको थियो । यो घटना ठेक्कापट्टा र लेनदेनबीचको जञ्जालसँग सम्बन्धित भएको आधारमा प्रहरीले गहिरो अनुसन्धान बढाएको बुझिएको छ ।