काठमाडौँ, २१ माघ।‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तक राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विमोचन भएको हो।
‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिईन् । उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरुदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याईन् । राष्ट्रपतिले भनिन्, “देशको सर्वोपरि हितलाई ध्यानमा राखेर संसद्ले काम गर्नुपर्दछ । यसमा सांसदको भूमिका महत्वपूर्ण हुनेछ ।” संविधानले निर्दिष्ट गरेबमोजिम नै आफूले संविधानको अक्षरशः पालना गर्दै आएको उल्लेख गर्दै राष्ट्रपतिले संवैधानिक अङ्गहरुले बुझाएका प्रतिवेदनहरुमाथि संसद्मा विस्तृत छलफल गर्ने र सम्बन्धित निकायहरुले पनि तिनको कार्यान्वयन गर्ने परिपाटीलाई बलियो बनाउन आवश्यक रहेको बताईन् ।
संसद् सचिवालले ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तक प्रकाशन गरेर संसदीय गतिविधिहरुको अभिलेखीकरणमा योगदान दिएको र यस्ता प्रकाशनहरुलाई निरन्तरता दिनुपर्ने खाँचो राष्ट्रपतिले औँल्याईन् । देशको अवस्था राम्रोसँग बुझेको व्यक्तिले नै संसद्मा प्रभावकारी भूमिका निर्वाह खेल्नसक्ने बताउँदै उनले अध्ययन, अनुसन्धानले यसमा सहयोग पुग्ने हुँदा पठनीय संस्कृतिलाई बढाउन संसद् सचिवालयले संसदीय गतिविधिसम्बन्धी पुस्तक प्रकाशनलाई महत्व दिनुपर्ने धारणा राखिन् । आफूले लामो समयसम्म संसद्मा रहेर धेरै अनुभव हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संसद्मा सांसदले बोलेका कुराहरुको प्रकाशनले आम जनताले आफ्ना प्रतिनिधिहरुका बारेमा जानकारी राख्न सक्ने र यसले संसद्प्रतिको आस्था बढेर जाने विश्वास व्यक्त गरीन् ।
समारोहमा राष्ट्रपतिसमक्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘संसद्मा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ पुस्तक हस्तान्तरण गरेका थिए भने लुम्बिनीका किसानले उत्पादन गरेका विभिन्न कृषिजन्य वस्तु उपहार प्रदान गरेका थिए ।-तस्विर: मुकुन्द कालिकोटे