काठमाडौं, माघ २२ । गत १२ माघमा सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको शव मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीमा भेटियो । सो शव प्रहरी अनुसन्धानका क्रममा चौधरीको भएको पुष्टि भएको थियो ।
उनको हत्यालाई लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेका बेला भोलिपल्ट शव भेटिएको भन्दा ३० मिटर पर अर्को खाल्टो भेटियो । प्रहरीले उत्खनन् गर्दा त्यहाँ अर्को शव भेटियो । त्यो शव धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठको थियो । श्रेष्ठ जग्गा कारोबारी हुन् ।
उनी ४ मंसिरमा व्यवहार मिलाउन भन्दै भक्तपुरबाट हिँडेका थिए । २५ वर्षअघि धरानमा सुन पसल सञ्चालन गरेका उनको अहिले झापामा प्लटिङ पनि छ । उनकी श्रीमती, २५ र २६ वर्षका दुई छोरा र ११ वर्षीया छोरी छन् ।
एकै ठाउँ थोरै मिटरको दूरीमा दुई(दुईवटा शव भेटिएपछि धेरैको चासोको विषय बन्यो यो घटना । प्रहरीले हत्याको वास्तविक कारण, हत्याराको पहिचान गरेर कहिले बाहिर ल्याउँछ भन्ने चासो बढिरहेका बेला ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोस्थित चरंगखेलको गोदाम परिसरमा फेरि अर्का एक जनाको शव उत्खनन् ग¥यो । सो शव तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६२ वर्षीय मोहनप्रसाद लिम्बूको थियो ।
सबैभन्दा पहिला लिम्बूको हत्या भए पनि सबैभन्दा अन्तिममा उनको र सबैभन्दा पछि चौधरीको हत्या गरेकोमा सबैभन्दा पहिला उनको शव भेटिएको थियो ।
चौधरी र श्रेष्ठको मोरङ र लिम्बूको ललितपुरमा हत्या गरिएको भए पनि हत्या गर्न र पुर्न प्रयोग गरिएको तरिका एउटै थियो । यी तीनै जनालाई पूर्वयोजनाअनुरूप नै हत्या गरिएको थियो ।
उनीहरू सबैको हत्या डोरी र गम्छाले घाँटी कसेर गरिएको थियो भने खाल्टो खनेर पुरिएको थियो । खन्ती र कोदालो प्रयोग गरेर खाल्टो खनिएको थियो । शव गलाउन तीनओटै शवमा पर्याप्त मात्रामा नुन राखिएको थियो ।
तीन जना व्यवसायीको एकै समूहबाट हत्या हुनुले उनीहरूको हत्या योजनाबद्व रूपमै भएको आजको राजधानी दैनिकमा खवर छ ।