मोरङ, २२ माघ: प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र भारतको विहार राज्यका उपमुख्यमन्त्री तारकेश्वर प्रसादबीच भेटवार्ता भएको छ। विराटनगरमा शुक्रबार भएको भेटका क्रममा मोरङ र सुनसरीस्थित सिंघिया र केशलिया खोला क्षेत्रमा तटबन्धसहित करिडोर र विहारमा क्षति पुगेको मीरगञ्ज पुल निर्माण कार्यको विषयमा छलफल भएको जनाइएको छ ।
छलफलमा मन्त्री कार्कीले बिहारको बथनाहास्थित मीरगञ्ज पुलमा भएको क्षतिका कारण नेपाली उद्योगी व्यवसायीले ठूलो समस्या व्यहोर्दै आएको जानकारी गराएका थिए। प्रत्येक वर्ष सो पुलमा बाढीले क्षति पुग्ने गरेको र ठूला मालवाहक सवारीसाधनको आवतजावतसँगै ठूलो परिमाणमा विलम्ब शुल्क बुझाउनु पर्ने बाध्यता रहेकोबारे मन्त्री कार्कीले ध्यानाकर्षण गराएका थिए।
उनले हाल क्षति पुगेको पुल नजिक निर्माणाधीन पक्की पुलको काम चाँडै सक्नसमेत आग्रह गरेका थिए। मन्त्री कार्कीले प्रत्येक वर्ष नदीजन्य विपत्तिका कारण दुबैतर्फ उत्तिकै समस्या हुने गरेको औंल्याए।
सो क्रममा विहारका उपमुख्यमन्त्री प्रसादले दुवै राष्ट्रका नागरिकको हितमा नेपालको प्रदेश नं १ सरकारसँग संयुक्त रुपमा धेरै काम गर्न सकिने बताए। ‘प्रदेश १ को मात्र नभएर हाम्रो सम्बन्ध सम्पूर्ण नेपाली नागरिकसँग उत्तिकै छ। यो क्षेत्रको विकासमा बिहार सरकारले मद्दत गर्ने विषयमा हामी सरकारस्तरमा थप छलफल गर्नेछौ’, उनले भने। उनले मीरगञ्ज पुलबाट सिर्जित समस्याको विषयबारे आफू जानकार रहेको भन्दै यसको समाधानका लागि पहल गर्ने आश्वासन दिए।-तस्बिर सौजन्य : आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं. १ /रासस