काठमाडौं, २२ माघ । बेइजिङको हिउँदे ओलम्पिकले विश्व राजनीतिका भएको ध्रुवीकरण समेत उजागर गरेको छ । अमेरिका र उसका निकट देशहरुले बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गरे । ती देशहरुले खेलाडी पठाएपनि कूटनीतिक सहभागिता जनाएनन् ।
चीनलाई रुसलगायत कतिपय देशहरुले भने साथ दिएको सन्देश दिए । ती देशका नेताहरु बेइजिङ पुगेर चीनसँगको निकटता उजागर गरे ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रुस चीन यात्रा निकै चर्चामा आयो । उनी हिउँदे ओलम्पिक उदघाटन भएको ४ माघमा बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सी चिनिफिङलाई भेटे । पुटिनले चीनसँगको निकटताको सन्देश पनि दिए ।
चीन पुग्नेमा ३२ देशका नेता तथा प्रतिनिधिहरु छन् । जसमा अर्जेन्टिनाका राष्ट्रपति अलबर्टो फर्नान्डेज, सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुसिस, अबुधावीका राजकुमार शेव मोहम्मद बिन जायद अल नायन पनि छन् ।
अर्जेन्टिना चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा संलग्न हुन खोजिरहेको छ । उसले त्यसबारे बेइजिङमा छलफल गरेको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फतेह इल सिसी, साउदी राजकुमार मोहम्मद विन सलमान पनि बेइजिङ पुगे । इजिप्ट पश्चिमाहरुसँग टाढिदै गएको छ । चीन साउदी अरबको तेल र ग्याँस सबैभन्दा बढी खरिद गर्ने देश हो । अर्कोतर्फ, सलमानको पश्चिमाहरुसँग पत्रकार जमल खसोगी हत्याकाण्डले सम्बन्धमा समस्या ल्याएको छ ।
मध्यपूर्वका युएई र कतारका नेताहरु पनि बेइजिङ ओलम्पिकमा सहभागी भए । कतारका अमिल शेख तमिम विन हमद हल थानी सहभागी भए ।
पूर्व सोभियत संघबाट अलग भएका देशहरुबाट किर्गिस्तानका राष्ट्रपति सडीयर जापारोभ, इक्वेडरका राष्ट्रपति गुलेरमो लासो पनि चीन पुगेका छन् । उनले चीनको साँढे ६ अर्ब डलरको ऋणबारे छलफल गर्ने उद्देश्य राखेको उल्लेख छ । उज्वेकस्तिान, तुर्केमिनिस्तानका नेता पनि बेइजिङ पुगे ।
तुर्केमिनिस्तानका राष्ट्रपति गुरबांगुली बेरडिमुखाभेडोभ, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन र उज्वेकिस्तानका राष्ट्रपति साभकाट मिरजियोयभ पनि बेइजिङ पुगे । बोस्निया हर्जगोभनियाका सरकार प्रमुख जोरान टेगेलटिजा पनि पुगे ।
थाइल्यान्डका राजकुमार महा चक्री सिरिनडोन, पपुवा न्युगिनीका प्रधानमन्त्ती जेम्स मारापे, सिंगापुरका राष्ट्रपति हलिमा याकोब, मंगोलियाका प्रधानमन्त्री युसानामसराइ ओयुन इरडेन, कम्बोडियाका राजा नरोदम सिहामोनी, कोरियाका सभामुख पार्क बेयोङ सेयुग, मोनाकोका राजकुमार अबबर्ट द्वीतिय, लक्जेमवर्गका ग्रान्ड डुक हेनरी पनि बेइजिङ पुगेकामा पर्छन् ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि बेइजिङ पुगे । पूर्व क्रिकेटर खानले मास्क लगाएर बर्ड नेष्ट स्डेटियममा खिचेको फोटो सार्वजनिक गरेका थिए । पाकिस्तानको चीनसँग निकट सैन्य सम्बन्ध छ । चीनका धेरै विकास आयोजनाहरु पाकिस्तानमा सञ्चालनमा छन् ।
संयुक्तराष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेज, यूएन महासभाका प्रमुख अब्दुल्ला सइद, डब्लुएचओका महानिर्देशक डा. टेड्रोस घेब्रेससलगायत पनि बेइजिङ पुगेका थिए ।
अमेरिका, अष्ट्रेलिया क्यानडा बेलायत, कोसोभो, लिथुआनिया, भारतलगायतका देशहरुले भने बेइजिङ ओलम्पिकको कूटनीति बहिष्कार गरेका छन् । नर्वे र स्वीडेनले कूटनीतिक बहिष्कार नगरेपनि अनुपस्थिति जनाएका छन् ।
जर्मनी, अष्ट्रिया, स्वीटजरल्यान्डले आफ्ना नेता या वरिष्ठ अधिकारी पठाएनन् । डेनमार्क, नेदरल्यान्ड र न्युजिल्यान्डले चीनको मानवअधिकारको विषय उठाएका छन् ।