Logo

तीन व्यवसायी हत्यामा कन्ट्रयाक्ट किलरलाई १५ लाख ‘सुपारी’, कस्लाई कति ?



काठमाडौं, २२ माघ । मोरङ र ललितपुरमा गरी तीनजना व्यवसायीको हत्यामा पेशेवर अपराधीलाई निश्चित रकम दिने मौखिक सम्झौता भएको खुलेको छ । हत्याका मुख्य अभियुक्त अनिलकुमार मण्डलले अमिन साहलाई १५ लाख रुपैयाँ दिने सहमति गरेका थिए । उनले बैनावापत् ३ लाख दिएको र बाँकी कमिशनको रकम लिएपछि दिने सहमति गरेको समेत प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

साहले नै हत्याका लागि पेशेवर अन्य अपराधीको व्यवस्था गरेका थिए । उनले हत्या गरी गाड्न प्रति व्यक्ति ४०-४० हजार दिएको समेत खुलेको छ ।

सिराहाका ३१ वर्षीय अनिलकुमार मण्डल सहकारीको अध्यक्ष भएर अन्य व्यवसाय पनि चलाउँदै आएका थिए । उनी आपराधिक पृष्ठभूमिको भएको समेत खुलेको छ । मण्डलले मोरङको जहदा गाउँपालिकाका २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनारलाई हत्याका लागि सुपारी दिएका थिए ।

साहले मोरङ धनपालथान गाउँपालिकाका नासिर आलम, रंगेली नगरपालिकाका आमतोला बस्दै आएका भारतीय नागरिक ३० वर्षीय मोहम्मद सुभाम र सुनसरी देवानगञ्ज गाउँपालिकाका १८ वर्षीय मोहम्मद हकिम मन्सुरीलाई समेत जोडेर हत्या गरेका थिए । हत्याका लागि साहले प्रति व्यक्ति ४० हजारका दरले रकम दिएको खुलेको छ ।

घटनामा तेह्रथुम घर भएका मोहनप्रसाद लिम्बूको हत्या २८ मंसिरमा गरेको मण्डलले बयानमा भनेका छन् । शव व्यवस्थापन सुरुमा घरभित्र गर्न ढलान फुटाउन खोजिएको थियो । पछि घरको पेटी नजिकै खाल्डो खनेर गाडेका थिए ।

मोहन लिम्बूको हत्यापछि ५ पौषमा मण्डलले राजेन्द्रप्रसाद श्रेष्ठ र ७ पौषमा शम्भुनाथ चौधरीलाई साथमै लिएर विराटनगर पुगेका थिए । त्यहाँ उनीहरुलाई होटल रत्नामा राखेका थिए ।

हत्यामा अहिलेसम्म पाँच जना संलग्न भएको आधारमा पक्राउ परेका छन् । प्रहरीले अन्यको संलग्नताबारे पनि अनुसन्धान बढाइरहेको जनाएको छ ।
हत्या कमिशनवापतको रकम विवाद नै रहेको खुलेको छ । तर, प्रहरीले जग्गा कारोबारसम्बन्धी धेरै विषयहरुबारे गहिरो अनुसन्धान गरिरहेको जनाएको छ ।

बैंकले लिलाम गरेको जग्गा उकास्न ४ जनाले कमिशन लिने गरी सहमति गरेको समेत खुलेको छ । १ करोड ६५ लाख कमिशन एक्लै हात पार्न मउडलले हत्या गरेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्