काठमाडौं, माघ २३ । आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी धुमधामका साथ देशभर वसन्त पञ्चमी मनाइँदैछ । आजकै दिनबाट वसन्त ऋतुसमेत सुरु भएको छ ।
यसैबीच वसन्त पञ्चमीको अवसरमा काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको छ । वसन्त श्रवणको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना लगायतका विशिष्ट व्यक्तिहरु, सुरक्षा निकायका प्रमुखहरु हनुमानढोकामा पुग्ने कार्यक्रम रहेको छ । वसन्त श्रवणको शुभ साइत पञ्चाङ्ग निर्णायक समितिले जुराउने गर्छ ।
सरस्वती पूजाको अवसरमा राष्ट्रपतिको शुभकामना शुभकामना संदेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले ज्ञान र शिक्षाको उन्नयनबाटै दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले विद्या, वुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
राष्ट्रपतिले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती रहेको सन्देशमा उल्लेख छ।
वर्तमान सन्दर्भमा प्रारम्भिक बाल विकास तहदेखि, विद्यालय हुँदै विश्वविद्यालयसम्म नै शिक्षाको सामयिक सुधारका सवालहरू साझा राष्ट्रिय चासोका विषय हुन पुगेका बताउँदै उनले शैक्षिक संस्थाहरूको सुधार, प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासमा राष्ट्र, अभिभावक र शैक्षिक संस्थाहरूले गर्नुपर्ने समवेत प्रयासतर्फ हामीले आफूलाई निर्देशित गर्नुपरेको जारी संदेशमा उल्लेख छ ।
राष्ट्रपतिको संदेशमा सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिईएको छ। राष्टपतिले सन्देशमा किसानका निम्ति वसन्त पञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिने गएिको र पर्यावरणको दिगो संरक्षण गर्दै मानव विकासको अवधारणालाई मूर्तरूप दिन आजका दिनले प्रेरणा प्रदान गर्दछ भन्ने आफूलाई लागेको उल्लेख गरिन् ।