काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् ।
अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको पत्र सार्वजनिक भएको भन्दै प्रचण्ड रुष्ट बनेका छन् ।
प्रचण्डनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आज (आइतबार) विहान प्रचण्डले प्रधानमन्त्री देउवालाई फोन गरेर आफूले सरकारमा सहभगाी मन्त्रीहरुलाई फिर्ता बोलाउन लागेको जानकारी दिएका थिए ।
उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईँ एमसीसी जसरी पनि पारित गराउनेगरि लाग्नुभयो, अमेरिकाले पनि दबाब दिने रणनीति बनायो । हामीले अमेरिकालाई लेखेको पत्र यसरी अहिलेको समयमा सार्वजनिक गर्नु गलत हो ।’
प्रचण्डले आफू र प्रधानमन्त्री देउवासँग अहिले एमसीसी पारित नगर्ने समझदारी भएको अवस्थामा एकाएक यसरी पत्रहरु सार्वजनिक गरिनु गलत भएको पनि आफूनिकट नेताहरुसँग गुनासो पोखेका छन् । प्रधानमन्त्री देउवासँगको फोनवार्तामा प्रचण्डले आफू पाँच दलीय गठबन्धन भने तोड्ने पक्षमा नरहेको जनाएका थिए ।
उनले प्रधानमन्त्री देउवालाई भनेका थिए,‘यदि तपाईँलाई एमसीसी पास गराउनैपर्ने अप्ठ्यारो छ भने तपाईँ एमालेको सहयोग लिने हो भने पनि लिनुहोस, तर हामी सरकारमा रहँदैनौं । एमसीसी पारित गर्ने पक्षमा छैनौं ।’ file photo
Related News:
एमसीसी वार कि पार गराउन देउवा बढे, प्रचण्ड र ओलीसँग आजै भेट तय
प्रचण्ड र देउवाले एमसीसी पारित गर्न अमेरिकालाई पत्र पठाएको खुलासा