Logo

माधव नेपाललाई देउवाले बालुवाटारमा किन बोलाएनन् ?



काठमाडौं, २३ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिने मुख्य नेतामध्ये थिए माधवकुमार नेपाल । उनले देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा ठूलै जोखिम मोले । जसका कारण एमाले नै फुट्यो ।

देउवालाई प्रधानमन्त्री बनाउनु माधव नेपालको वाध्यता पनि थियो । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाउन चाहन्थे । जसका लागि देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था पनि बन्यो ।

महत्वपूर्ण निर्णयहरु गर्दा देउवाले माधव नेपालसँग सल्लाह गर्ने गरेका छन् । तर, आज प्रचण्ड र ओलीलाई एकसाथ बालुवाटार डाक्दा माधव नेपाललाई निम्तो गरेनन् । नेपाललाई शिर्ष बैठकमा सहभागी गराउन चाहेपनि देउवाका लागि वाध्यकारी अवस्था बन्यो ।

माधव नेपालको साथमा बैठकमा नबस्ने ओलीले स्पष्ट पारे । उनी नेपालको दल नेकपा एसलाई मान्यता दिन तयार छैनन् ।

प्रचण्डले पनि माधव नेपाललाई पनि बोलाउनुपर्ने कुरा देउवासँग राखेका थिए । तर, देउवाले ओलीका कारण बैठकमा बोलाउन नसक्ने भने । विश्वस्त स्रोतका अनुसार देउवाले माधव नेपालसँग बैठकबारे परामर्श भने टेलिफोनमार्फत गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्