काठमाडौं, २३ माघ । सरकारले अमेरिकी सहयोग सम्झौता एमसीसी संसद्मा टेबुल गर्नुपर्नेभन्दै सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव लिएर आज (आइतबार) कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख सापकोटासमक्ष भेटवार्ता गरेका थिए ।
भेटमा बडुले अब एमसीसी संसद्मा पेश गराउन र छलफलको लागि अघि बढाउन आग्रह गरेका थिए । उनले एमसीसी धेरै गिजोलिएको भन्दै तत्काल संसद्मा टेबुल गराएर सांसदहरुको बीचमा छलफल गराउनुपर्ने आग्रह गरेका थिए ।
तर, सभामुख सापकोटाले भने अहिले संसद्मा एमसीसी टेबुल गराउने र छलफल गराउने वातावरण नभएको जवाफ दिएका थिए । पछिल्लो समय प्रधानमन्त्री देउवाले एमसीसी सदनबाट अनुमोदन गराउनेगरि आफूलाई सक्रिय तुल्याएका छन् ।
उनले अहिले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि यो विषयमा छलफल गरिरहेका छन् । यो समाचार पार्दासम्म अहिले बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र दाहालबीच छलफल जारी छ ।
सभामुख सापकोटा भने यथास्थितिमा एमसीसी अघि बढाउने पक्षमा छैनन् ।उनले सार्वजनिक रुपमै एमसीसी अहिलेकै अवस्थामा पास नगर्ने अभिव्यक्ति दिईरहेका छन् ।उनले सबै दलबीच सहमति कायम गर्न प्रधानमन्त्रीलाई सन्देश पठाएको बुझिएको छ । file photo